बनेपा- नेकपा एमालेका काभ्रेका नेता रक्तिम लामाले काभ्रे प्रतिनिधि सभा क्षेत्र–१ का लागि आफ्नो उम्मेदवारी केन्द्रीय कमिटीमा सिफारिस भइसकेको अवस्थामा पार्टीभित्र गुटीय आधारमा टिकट वितरण गरिएमा दुर्भाग्यपूर्ण हुने बताएका छन्।

नेता लामाका अनुसार क्षेत्रीय कमिटी र जिल्ला कमिटीबाट केन्द्रीय कमिटीमा उनको नाम सिफारिस भइसकेको छ। तर, महाधिवेशनमा देखिएझैँ यदि टिकट वितरण पनि दुई गुटको आधारमा मात्र गरियो भने त्यसले न आन्दोलनको रक्षा गर्न सक्ने न पार्टीलाई सुदृढ बनाउने उनको धारणा छ।

“म गुटवादको विपक्षमा छु,” नेता लामाले भने, “गुटवादले व्यक्तिगतरूपमा वा सीमित समूहगत स्वार्थको संरक्षण गर्छ, जसले संगठनलाई विभाजित गर्छ।” तर, विचार समूहको अस्तित्व भने नकारात्मक नभएको उल्लेख गर्दै उनले विचार समूहहरू दर्जनौँ हुन सक्ने र तिनले नीति, नेतृत्व तथा आन्दोलनलाई नयाँ गति दिन सक्ने बताए।

उनका अनुसार गुटवादले संगठन कमजोर बनाउँछ भने विचार समूहले बहस, वैचारिक स्पष्टता र आन्दोलनको उचाइ बढाउन सहयोग पुर्‍याउँछ। त्यसैले टिकट वितरणदेखि नेतृत्व चयनसम्म विचार, क्षमता र आन्दोलनप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइनु आवश्यक रहेको उनले जोड दिए।

नेता लामाले पार्टीभित्र अवसर र अधिकारको न्यायोचित वितरण हुनुपर्ने उल्लेख गर्दै गुटीय आधारमा अवसर प्राप्त गर्ने परिपाटी त्याग्नुपर्ने बताए। एउटै व्यक्तिले आधा दर्जन जिम्मेवारी बोकेर संगठनलाई निजी साधन बनाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ। साथै पटक–पटक एउटै व्यक्ति उही जिम्मेवारीमा रहिरहनु पनि संगठनका लागि घातक हुने उनले टिप्पणी गरे।

नेतृत्व चयनका क्रममा नेताको वरिपरि घुमफिर गरेर ‘आफू योग्य छु’ भन्ने फजुल र काइते प्रमाण पेश गर्ने संस्कार बन्द हुनुपर्नेमा पनि उनले जोड दिएका छन्।

नेता लामाको यो धारणा पार्टीभित्र वैचारिक बहस र आन्तरिक लोकतन्त्र सुदृढ गर्नेतर्फ केन्द्रित रहेको बताइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।