काभ्रे-  फागुन २१ गतेको निर्वाचनले यसपटक उम्मेदवारको संख्या, दलको विविधता र सामाजिक प्रतिनिधित्वका सवालमा विशेष ध्यान तानेको छ। दुईवटा निर्वाचन क्षेत्र समेटिएको काभ्रेपलाञ्चोकको यस निर्वाचनमा कुल ४२ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसमा दलगत र स्वतन्त्र दुवै किसिमका प्रतिस्पर्धी छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा १५ राजनीतिक दल र ३ जना स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १६ दल र ८ जना स्वतन्त्र उम्मेदवारसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नम्बर १ मा ‘अन्य’ समूहबाट एक जना उम्मेदवार छन्।

जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेपलाञ्चोक जिल्लाबाट दुई जना मतदाताले आफ्नो नाम ‘अन्य’ समूहमा सूचीकृत गराएका छन्। यस निर्वाचनमा ११ जना स्वतन्त्र उम्मेदवार छन्। यद्यपि, यसपटक पनि दलित समुदायबाट कुनै उम्मेदवार नपरेको तथ्य उल्लेखनीय छ। जनजाति समुदायबाट भने २५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईं उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ र नेशनल रिपब्लिक नेपालबाट भरत तामाङले पनि उम्मेदवारी दिएका छन्।

यसैगरी मंगोल नेशनल अर्गनाइजेशनबाट कमलबहादुर लामा, समावेशी समाजवादी पार्टीबाट विनोद लामा (अन्य), जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा र नेकपा माओवादी (विप्लव) समूहबाट कान्छा तामाङ उम्मेदवार छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ र संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रतर्फ राजेश श्रेष्ठ, युवराज चौलागाईं र जीवन लामाले उम्मेदवारी दिएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाईं र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी प्रतिस्पर्धामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ र नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी नेशनल रिपब्लिक नेपालबाट सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा र मंगोल नेशनल अर्गनाइजेशनबाट उमेश तामाङ उम्मेदवार छन्। जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम ब्लोनले पनि उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्रतर्फ आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ र सीताराम मैनाली उम्मेदवार छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।