काभ्रे- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम उम्मेदवार बनेका छन्। लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय गौतमको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, बेपत्ता जीवन, यातना र लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म फैलिएको छ ।

वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा जन्मिएका गौतम निम्न वर्गीय परिवारमा हुर्किएका हुन्। स्नातक तहसम्म अध्ययन गरेका उनी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए। २०४१ सालदेखि शिक्षक पेशामा संलग्न भए पनि पंचायत व्यवस्था विरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाएकै कारण २०४४ सालमा शिक्षक जागिरबाट बर्खास्त भएका थिए  ।

नेकपा (मशाल) हुँदै पार्टी सदस्य, एरिया सेक्रेटरी, जिल्ला तथा क्षेत्रीय जिम्मेवारी सम्हाल्दै उनले २०५२ सालमा स्थायी जागिर छोडेर जनयुद्धमा पूर्णकालीन रूपमा भूमिगत जीवन रोजेका थिए। २०५३ साल पुस १९ गते बेथान मोर्चाको कमाण्ड सम्हाल्दै मोर्चालाई सफल बनाएका गौतम त्यस समय काभ्रे–रामेछाप जिल्ला सेक्रेटरीको भूमिकामा थिए ।

२०५६ साल श्रावण २५ गते तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका उनी १६ महिना सेनाको नियन्त्रणमा चरम यातना सहन बाध्य भए। २०५७ साल कात्तिक १८ गते शान्ति वार्ताको वातावरण बनाउन तत्कालीन शेरबहादुर देउवा सरकारद्वारा रिहा गरिएका गौतम त्यसपछि पुनः जनयुद्ध र जनआन्दोलनमा सक्रिय बने

काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र दोलखालगायत जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गौतममाथि २०५८ र २०५९ सालमा तत्कालीन सरकारले ‘रेड कर्नर नोटिस’समेत जारी गरेको थियो। २०६५ सालमा काभ्रे जिल्ला अध्यक्ष, सह–इन्चार्ज तथा केन्द्रीय सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी २०७४ देखि २०७९ सम्म चौंरीदेउराली गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष बनेर उच्च मतका साथ कार्यकाल पूरा गर्न सफल भएका थिए

लामो राजनीतिक संघर्ष, त्याग र अनुभव बोकेका दिननाथ गौतम यसपटक काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा पुनः जनताको विश्वास जित्ने अभियानमा जुटेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।