काठमाडौं । उज्यालो नेपालभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ । कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीका १५ जना केन्द्रीय सदस्यले एकैसाथ पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन् । उनीहरूले तत्काल आफ्नो आगामी राजनीतिक यात्राबारे केही नबताए पनि विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने बताएका छन् ।

हस्ताक्षररहित विज्ञप्तिमा उनीहरूले यो कदमलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन आग्रह गरेका छन् ।

पार्टी परित्याग गर्नेमा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन् ।

रास्वपा र उज्यालो नेपालको एकता भंग भएपछि उनीहरू घिसिङसँग असन्तुष्ट बनेका थिए । अडानमा लचकता अपनाएर पनि एकता जोगाउनुपर्ने उनीहरूको धारणा थियो । उज्यालोको कोटाबाट रास्वपाको बन्दसूचीमा परेकी रिमा विश्वकर्मा रास्वपामै रहेकी छन् । यस्तै, डा. तारा जोशीलाई रास्वपाले डडेलधुराबाट र अरविन्द साहलाई बारा–३ बाट प्रत्यक्ष उम्मेदवार बनाएको छ ।

उज्यालो नेपालका अन्य १५ जना केन्द्रीय सदस्य पनि रास्वपामा समायोजन हुन चाहेको बताइएको छ । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उनीहरूमध्ये केहीलाई केन्द्रीय समितिमा समायोजन गर्न सभापति रवि लामिछानेलाई प्रस्ताव लगे पनि अस्वीकार भएको स्रोतको दाबी छ ।

विज्ञप्ति जारी गर्ने नेतामध्ये एकले भने, “रास्वपाले उचित स्थान दिएको खण्डमा यही पार्टीमा बस्छौं, अन्यथा वैकल्पिक राजनीतिमा आफ्नै ढंगले सक्रिय रहनेछौं ।”

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।