काठमाडौं । प्रेम, आकर्षण र भावनात्मक सम्बन्धको कथालाई समेट्दै नव–पुस्ताका मोडल रेवन स्याङतान र रस्मिता लामाको अभिनयमा आधारित नयाँ म्युजिक भिडियो ‘एला मिरि’ सार्वजनिक भएको छ। TSS Damphu Media को प्रस्तुतिमा निर्माण गरिएको उक्त भिडियोले युवा पुस्ताको प्रेम कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
भिडियोमा नव–मोडल रेवन स्याङतान र मोडल रस्मिता लामाको जोडीलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेम यात्रा, भावना र सम्बन्धका उतार–चढावलाई दृश्यात्मक रूपमा जीवन्त बनाइएको छ। सार्वजनिक भएसँगै भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
म्युजिक भिडियोमा युवा गायक पेमा लामाको स्वर तथा गायिका पूजा तामाङको साथ रहेको छ। गीतका शब्द पनि पेमा लामाकै हुन् भने संगीत पवन लामाले दिएका छन्। एरेञ्ज चन्द सिंहले गरेका हुन् र मिक्सिङ गोविन्दा सोनीले सम्हालेका छन्।
त्यसैगरी, छायांकन तथा ड्रोन सेन्साई पेम्बा वाइबाले गरेका हुन् भने कलर ग्रेडिङ त्रिलोक लामाले गरेका छन्। उपकरण व्यवस्थापन छाया क्रिएशनले गरेको हो। भिडियोको सम्पादन तथा निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङले गरेका हुन्।
प्रेम कथामा आधारित यस म्युजिक भिडियोले विशेषगरी युवापुस्ताको मन छुने निर्माण टिमको विश्वास रहेको छ। सार्वजनिक भइसकेको ‘एला मिरि’ म्युजिक भिडियो डिजिटल प्लेटफर्ममार्फत हेर्न सकिनेछ।























