काठमाडौं । तामाङ सांगीतिक आकाशमा नयाँ स्वरको रूपमा उदाएका नव गायक प्रविन तामाङले आफ्नो पहिलो सांगीतिक प्रस्तुति “दु:खसे सुबा” मार्फत औपचारिक रूपमा संगीत यात्राको सुरुआत गर्नुभएको छ। वियोगान्त प्रेमभाव बोकेको यस गीतले मायाको पीडा, सम्झनाको भार र मनको मौन चित्कारलाई संवेदनशील ढंगले उजागर गरेको छ।

“दु:खसे सुबा” गीतमा रचनाकार डुप्साङ तामाङका हृदयस्पर्शी शब्दहरूले प्रेम र बिछोडको भावलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। जोगलाल लामाको संगीत तथा एरेञ्जले गीतलाई थप भावनात्मक गहिराइ प्रदान गरेको छ भने नव गायक प्रविन तामाङको मार्मिक स्वरले गीतलाई जीवन्त बनाएको अनुभूति हुन्छ। गीतको मिक्सिङ अर्पण लामाले गर्नुभएको हो।

तामाङ समुदायको मौलिक भावभूमि झल्काउने उक्त गीत डम्फू मिडिया हाउसबाट सार्वजनिक गरिएको हो। पहिलो प्रस्तुतिमै प्रविन तामाङले देखाएको सम्भावनाले तामाङ सांगीतिक क्षेत्रमा नयाँ प्रतिभाको आगमनको संकेत दिएको सांगीतिक वृत्तमा चर्चा हुन थालेको छ।

वियोग र प्रेमको सम्मिश्रण बोकेको “दु:खसे सुबा” गीतले श्रोताको मन छुने विश्वास गरिएको छ। यस गीतमार्फत नव गायक प्रविन तामाङले आफ्नो सांगीतिक यात्राको दरिलो पाइला चाल्नुभएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।