धुलिखेल- आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै खानीखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टीको संगठन सुदृढीकरण अभियान तीव्र बनेको छ। यही क्रममा खानीखोला गाउँपालिका समितिको आयोजनामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमसँग अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठक सम्पन्न भएको छ।
माघ १९ गते तालढुङ्गामा आयोजित उक्त कार्यक्रममा निर्वाचन परिचालन कमिटीको बैठकसमेत सञ्चालन गरिएको थियो। बैठकमा आगामी निर्वाचनका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले एकताबद्ध प्रयासमार्फत पार्टीलाई विजयतर्फ लैजाने दृढ संकल्प व्यक्त गरे।
कार्यक्रममा उम्मेदवार दिननाथ गौतमसहित मुकुन्द गौतम, अक्कल बहादुर थिङ, महेश ईन्द्र बहादुर थिङ (छिन्ताङ), मिना पाख्रिन, बयान सिंह लामा, अबिरल जिम्बा, दैबलाल घिसिङ (अनुशिल), राजन अधिकारी र मनिता लामा सहभागी थिए।
भेटघाट तथा बैठकका क्रममा उम्मेदवार टोलीलाई खानीखोला गाउँपालिका–७ मिल्चेको महांकालमा भव्य स्वागत गरिएको थियो। त्यसैगरी वडा नम्बर–६ को माझिटार र तालढुङ्गामा पनि स्थानीयवासीले उत्साहपूर्वक स्वागत गरेका थिए।
स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले खानीखोला क्षेत्रमा पार्टीको संगठनात्मक शक्ति थप मजबुत बनेको नेताहरूले बताएका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















