बनेपा- काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब ८:१५ बजे बनेपा नगरपालिका–७ चाँदनीचोकस्थित सडक खण्डमा बा.प्र.०२–०६३प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–८ स्थायी घर भई हाल धुलिखेल नगरपालिका–५ बस्दै आएका अन्दाजी ३१/३२ वर्षीय ओमन प्रधान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा लगिएको थियो। तर बिहान ८:५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा  स्थानीय भेला भई केही समय सडक अवरुद्ध गरेका थिए। प्रहरीको पहलमा टिपर हटाई सडक पुनः सञ्चालनमा ल्याइएको छ।

टिपर चालक सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–६ निवासी अन्दाजी ३२ वर्षीय दीपक रोक्का हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।