काठमाडौं। तामाङ कला, संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ तामाङ सुपरस्टार डम्फु मिडिया को आयोजनामा शुक्रबार बौद्ध पिपलबोटस्थित सेकुवा जक्शनमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मिस तामाङ–२०२६ की विजेता Miss Tamang 2026 सामाग्री मोक्तान तामाङलाई बधाई तथा सम्मान प्रदान गर्नुका साथै प्रेम गीत “मनैको माया” को म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा तामाङ समुदायका अग्रज, कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान समारोहमा डम्फु मिडियाका सञ्चालक तथा तामाङ चलचित्रका महानायक अमिर दोङ ले सामाग्री मोक्तान तामाङलाई खादा, मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो। उहाँले तामाङ युवापुस्ताले कला र सौन्दर्यका माध्यमबाट समुदायको पहिचान विश्वमञ्चमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा सार्वजनिक गरिएको प्रेमभावले ओतप्रोत गीत “मनैको माया” ले दर्शकमाझ विशेष आकर्षण पैदा गरेको छ। गीतमा जेम्स जिम्बाको शब्द, कर्साङ लामाको संगीत तथा कर्साङ लामा र नतसा ब्लोनको स्वर रहेको छ।

भिडियो पक्षमा भने अमिर दोङकै निर्देशनमा साईला सिङ्तान, सुजिना लामा र पेमा लामा योन्जनको अभिनय देख्न सकिन्छ। पर्यटकीय जिल्ला मुस्ताङ आसपास छायांकन गरिएको भिडियोले प्राकृतिक सौन्दर्य र प्रेमकथालाई सशक्त रूपमा प्रस्तुत गरेको छ। भिडियोका निर्माता पेमा लामा योन्जन, सह–निर्माता तथा मेकअप आर्टिस्ट ईश्वरी स्याङ्तान, छायांकन तथा रंग सम्पादन त्रिलोक लामाले गरेका छन्।

सांगीतिक प्रस्तुति, शुभकामना मन्तव्य र भिडियो प्रदर्शनसहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। संस्थाले आगामी दिनहरूमा पनि तामाङ कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।