काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीले वस्तुनिष्ठ समीक्षा गर्दै नयाँ नीति र योजनासहित अघि बढ्नुपर्ने बताएका छन्। उनले निर्वाचनमा विजयी हुने पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लगायत सम्पूर्ण विजयी उम्मेदवारलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा पराजित भएका श्रेष्ठले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पार्टीको पक्षमा मतदान गर्ने मतदाता तथा निर्वाचनमा सहभागिता जनाउने सम्पूर्ण जनसमुदायप्रति आभार व्यक्त गरेका छन्। उनले प्रतिकूल परिस्थितिका बाबजुद पनि पार्टी, कम्युनिस्ट तथा समाजवादी आन्दोलनको पक्षमा अहोरात्र खटिने नेता, कार्यकर्ता र समर्थकप्रति धन्यवाद प्रकट गरेका छन्।

श्रेष्ठले अहिलेको परिस्थितिमा समग्र अवस्थाको विश्लेषण र संश्लेषण गर्दै निर्मम आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्। उनले पार्टीको कार्यदिशा शान्तिपूर्ण परिवर्तनमा आधारित भएकाले निर्वाचन र सरकारमार्फतको कामलाई महत्वपूर्ण मानिए पनि त्यसलाई मात्र सम्पूर्ण संघर्षको माध्यमका रूपमा नहेर्नुपर्ने बताएका छन्।

उनका अनुसार शान्तिपूर्ण कार्यदिशाअन्तर्गत सरकार, सदन र सडक संघर्षमध्ये कुन मोर्चा कहिले प्रमुख हुन्छ भन्ने कुरा तत्कालीन राजनीतिक परिस्थितिमा निर्भर रहनेछ। त्यसैले परिस्थिति अनुसार कार्यनीति र संघर्षको स्वरूप निर्धारण गर्दै अघि बढ्नुपर्ने उनले बताएका छन्।

श्रेष्ठले आगामी राजनीतिक यात्रामा पाँच प्रमुख राष्ट्रिय कार्यभारलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरेका छन्। जसअन्तर्गत राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा; ऐतिहासिक राजनीतिक उपलब्धि तथा संविधानको संरक्षण र सुदृढीकरण; शान्ति प्रक्रियाका बाँकी काम तथा संक्रमणकालीन न्याय टुंग्याउने; सामाजिक–आर्थिक रूपान्तरणमार्फत सामाजिक न्यायसहित समृद्धि हासिल गर्ने; र अन्ततः नेपालमा समाजवाद निर्माण गर्ने लक्ष्य रहेका छन्।

उनले यी रणनीतिक र कार्यनीतिक कार्यभारलाई केन्द्रमा राखेर एकता, ध्रुवीकरण, सहकार्य र संयुक्त मोर्चामार्फत पार्टी पुनर्गठन र देश तथा जनताको पक्षमा संघर्षको नीति निर्माण गर्नुपर्ने धारणा राखेका छन्। श्रेष्ठले क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।