-रोमन श्रेष्ठ

नेपालमा हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक दिशा बारे नयाँ बहस सिर्जना भएको छ। जनताले फेरि एक पटक लाेकतान्त्रिक प्रकिया मार्फत आफ्नो मार्फत व्यक्त गरेका छन्। केही दलहरूले अपेक्षा गरेको अनुसार सफलता प्राप्त गरे भने केही नयाँ राजनीतिक शक्तिहरू बलियो रूपमा उदाएका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) काे उपस्थितिले नेपाली राजनीतिमा नयाँ बहस र आशा दुवै जन्माएको छ।तर नेतृत्व नयाँ भए पनि देशले सामना गरिरहेको धेरै चुनौतीहरू भने पुरानै छन्।

चुनावको परिणाम सगैं बहुमतको सरकार गठनको विषय पनि चर्चामा आएको छ। लामो समयदेखि नेपालले गठबन्धन सरकार र राजनीतिक अस्थिरताकाे अनुभव गर्दै आएको छ। सरकार परिवर्तन, दलहरू बिचको शक्ति संघर्षका र नीतिगत अनिश्चितताले देश विकासको गति सुस्त बनाएको आरोप लाग्दै आएको छ। यस्ताे अवस्थामा स्थिर र प्रभावकारी सरकारको आवश्यकता धेरैले महसुस गरेका छन्। बहुमत सरकार बनेमा निर्णय प्रक्रिया छिटो र स्पष्ट हुने अपेक्षा गरिन्छ, तर त्यसका लागि जिम्मेवार र पारदर्शी नेतृत्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

यसपटकको निर्वाचनले जनताको साेचमा आएको परिवर्तन पनि देखाएको छ। धेरै मतदाताले पुराना राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक शक्ति र नयाँ अनुहारलाई अवसर दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) काे उदयलाई धेरै ले यहि परिवर्तनको संकेतका रूपमा हेरिएका छन्। सुशासन, पारदर्शीता र नयाँ राजनीतिक संस्कृतिको नारासहित आएको RSP ले जनताको अपेक्षा पनि उत्तिकै बढाएको छ। अब चुनौती भनेको ती अपेक्षा लाई व्यवहारमा उतार्नु हाे ।

देशको आर्थिक अवस्था, बेरोजगारि, महँगी र विकासको असमानता जस्ता समस्या अहिले पनि गम्भीर रूपमा रहेको छन्। हजारौं युवा रोजगारीका लागि विदेश जान बाध्य छन्। स्वदेश मै अवसर सिर्जना गर्ने नसक्नु ठूलो चिन्ताको विषय बनेको छ। नयाँ नेतृत्व,चाहे पुराना दलका हुन,वा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्तिका प्रतिनिधि, सबैले मिलेर यी समस्याको समाधान खोज्नुपर्ने अवस्था छ।

यसका साथै सुशासन र पारदर्शिताको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। भष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र विकास योजनाको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख चुनौती हो। जनताले अब केवल भाषण र नारा मात्र होइन, ठोस परिणाम देख्न चाहेको छन्। त्यसैले नेतृत्वले व्यवहारमै परिवर्तन देखाउनु पर्ने दबाब बढेको छ।

अन्ततः यस निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ – जनता परिवर्तन चाहन्छन् । चाहे बहुमत सरकार बनोस् वा गठबन्धनको, जनताको मुख्य अपेक्षा स्थिरता, सुशासन र विकास नै हो। नयाँ नेतृत्वसामु अवसर पनि छ र चुनौती पनि। यदि उनिहरुले इमानदारी, स्पष्ट दृष्टिकोण र जनताप्रति जिम्मेवारका साथ काम गर्ने सके भने पुराना चुनौतीहरु लाई सामाधान तर्फ लैजान सकिन्छ। अन्यथा जनताले अर्को चुनावमा फेरि नयाँ निणर्य लिन सक्ने सम्भावना सधैं रहन्छ।

लेखक अखिल (क्रान्तिकारी)का नेता हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।