काभ्रे । काभ्रे क्षेत्र नं.१ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामाले विजयी उम्मेदवार मधुकुमार चौलागाईंलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

लामाले निर्वाचनमा ७ हजार ४०३ मत प्राप्त गरेका थिए। मत परिणाम आफ्नो पक्षमा नआए पनि जनताको साथ, विश्वास र समर्थनलाई सधैं सम्मान गर्ने उनले बताएका छन्।

निर्वाचनपछि जारी गरेको धन्यवाद सन्देशमा उनले काभ्रे क्षेत्र नं. १ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा साथ दिने नेता तथा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई विशेष धन्यवाद दिएका छन्। साथै चुनावसम्बन्धी समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी तथा मिडिया हाउसप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

“चुनाव लोकतान्त्रिक प्रक्रिया हो, नतिजा जे आए पनि म सधैं जनताको साथमै रहनेछु,” लामाले भनेका छन्।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतको फराकिलो अन्तरसहित विजयी भएका छन्। काभ्रे क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिकामा उज्यालो नेपालले ३ हजार ५४५ मत र तेमाल गाउँपालिकामा ३ हजार ८९५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। त्यस्तै रास्वपाको घण्टी चिन्हले रोशीमा २ हजार ७८४ र तेमालमा २ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको थियो।

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा रास्वपाले काभ्रे जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्र जित्दै प्रभाव देखाएको छ। काभ्रे क्षेत्र नं. १ मा मधुकुमार चौलागाईं र क्षेत्र नं. २ मा बदन भण्डारी विजयी भएसँगै रास्वपाले जिल्लामा क्लिन स्वीप गरेको हो।

यसैबीच समानुपातिकतर्फ कुलमान घिसिङ सम्बद्ध राष्ट्रिय परिवर्तन पार्टीले काभ्रे–१ मा १३ हजार ६९९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।