काठमाडौँ- काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मधुकुमार चौंलागाईंले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। पत्रकारसँगको कुराकानीका क्रममा उनले घिसिङको कामबारे दिएको टिप्पणी विवादित बनेपछि उनको भनाइ अहिले व्यापक रूपमा भाइरल भइरहेको छ।

‘जान्नेलाई छान्ने’ अभियानबाट चुनाव जितेका चौंलागाईंले पत्रकारहरूसँग कुरा गर्दै कुलमान घिसिङले बिना पारिश्रमिक देशका लागि काम नगरेको बताएका थिए। उनले भनेका थिए, “कुलमानले बिना पारिश्रमिक काम गरेको हो यो देशलाई? उहाँले यो देशको जागिर खाएर, तपाईं–हामीले तिरेको कर खाएर काम गरेको हो। काम गरेको कुरालाई तपाईंहरूले ठूलो कुरा गर्नुहुन्छ भने त्यसलाई हामीले कसरी लिने?”

उनको यही अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचनाको बाढी आएको छ। धेरै प्रयोगकर्ताले सांसद चौंलागाईंलाई नै प्रश्न गर्दै “तपाईंले चाहिँ बिना पारिश्रमिक काम गर्ने हो?” भनेर प्रतिक्रिया जनाएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ता राम घिसिङले लेखेका छन्, “तैंले बिना पारिश्रमिक काम गर्छस्?” त्यस्तै प्रदीप लामाले चौंलागाईंलाई मत दिने मतदातालाई सम्झेर आफूलाई हाँसो लागेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “मलाई यो मान्छेको कुरा सुनेर होइन, यस्तालाई भोट दिने मान्छेहरू सम्झेर हाँसो लाग्यो। के देखेर, के सोचेर भोट दियो होला?”

मनिष सिलवालले पनि काभ्रेका मतदाताले ‘ठूला कुरा गर्ने नेता’ पाएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “काभ्रेले ठूलो कुरा गर्ने नेता पायोजस्तो छ। जागिर धेरैले खाएको छन्, उहाँले अलि आफ्ना कर्तव्य पालना गर्नु भयो नि भन्न सक्नुपर्यो नेताज्यू।”

देशभर रास्वपा को लहर चलेको समयमा काभ्रे–१ मा जित हासिल गरेका चौंलागाईंले सांसद पदको शपथ लिनु अगावै विवादमा तानिनु राजनीतिक वृत्तमा पनि चर्चा र बहसको विषय बनेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।