काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सम्पन्न भएको छ। समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना हुँदा रास्वपाले ५१ लाख ५७ हजार १३० मतसहित स्पष्ट अग्रस्थानमा देखिएको छ भने नेपाली काँग्रेस र एमालेको मत अघिल्लो निर्वाचनको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बुधबार केही क्षेत्रको समानुपातिक मतगणना सकिएसँगै दुवैतर्फको मतगणना औपचारिक रूपमा सम्पन्न भएको हो। प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो।

समानुपातिकतर्फ प्राप्त मतअनुसार रास्वपाले ५१ लाख ५७ हजार १३० मत प्राप्त गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत पाएको छ भने तेस्रो स्थानमा एमालेले १४ लाख ५२ हजार ७५८ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम सँस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राप्रपाले ३ लाख ३० हजार २६८ मत पाएका छन्।

अघिल्लो अर्थात् २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको एमालेको मत यसपटक झण्डै आधाले घटेर १४ लाख ५२ हजार ७५८ मा सीमित भएको छ। यस हिसाबले एमालेको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ ले घटेको देखिन्छ।

त्यस्तै, नेपाली कांग्रेसको मत पनि उल्लेखनीय रूपमा घटेको छ। कांग्रेसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएकोमा यसपटक १७ लाख ५५ हजारको हाराहारीमा सीमित भएको छ। यसरी हेर्दा कांग्रेसको मत करिब ९ लाख ६० हजारभन्दा बढीले घटेको छ।

समानुपातिक मतको आधारमा दलहरूले पाउने सिटको प्रारम्भिक गणनाअनुसार रास्वपाले ५७, नेपाली कांग्रेसले २०, एमालेले १६, नेपाल कम्युनिस्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गर्ने देखिएको छ।

प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली जोड्दा कुल २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद हुने देखिएको छ। त्यस्तै कांग्रेसका ३८, एमालेका २५, नेपाल कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद संसदमा रहनेछन्।

यस निर्वाचनमा जनमत पार्टी, जसपा, लोसपा, नाउपा, नेमकिपा र जनमोर्चाजस्ता दलहरूले राष्ट्रिय पार्टीको हैसियत कायम गर्न नसकेको अवस्थामा हर्क साम्पाङ नेतृत्वको श्रम सँस्कृति पार्टी नयाँ शक्तिका रूपमा उदाएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ६७ वटा राजनीतिक दल प्रतिस्पर्धामा सहभागी भएका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।