बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ स्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव “रजत जयन्ती” तथा अभिभावक दिवसको कार्यक्रम भव्यताका साथ सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिसहित सम्पन्न भएको छ भने समापन कार्यक्रम आज आयोजना हुँदैछ।

विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रम हिजो र आज गरी दुई दिनसम्म सञ्चालन हुने छ। कार्यक्रम अन्तर्गत विद्यालयले आफ्नो २५ वर्षे यात्रालाई स्मरण गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयप्रति योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने योजना बनाएको छ।

कार्यक्रममा नियमित वार्षिकोत्सवमा हुने गतिविधिहरूसँगै एसईई परीक्षार्थीहरूको विदाइ, अभिभावक सम्मान, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण लगायतका कार्यक्रम समावेश गरिएको छ। त्यस्तै नगर, जिल्ला तथा प्रदेशस्तरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई विशेष सम्मान गर्ने कार्यक्रम पनि राखिएको विद्यालय प्रशासनले जनाएको छ।

रजत जयन्तीको अवसरमा विद्यालयको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारी, पूर्व सञ्चालक, विद्यालयका विभिन्न समितिमा रहेर सहयोग गर्ने व्यक्तित्वहरू तथा शिक्षा र विद्यालयप्रति सहयोग गर्ने घरबेटीलाई समेत सम्मान गरिने कार्यक्रम तय गरिएको छ। साथै विद्यार्थीहरूको तहगत तथा विधागत प्रतिभा प्रस्तुत हुने विविध सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।

विहीबार सम्पन्न पहिलो दिनको कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। नृत्य, गीत, नाटक तथा सिर्जनात्मक कार्यक्रममार्फत साना बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्दा उपस्थित अभिभावक र अतिथिहरूले उत्साहपूर्वक प्रशंसा गरेका थिए।

सोही अवसरमा उक्त तहका विद्यार्थीहरूलाई शैक्षिक उपलब्धि तथा विभिन्न अतिरिक्त क्रियाकलापमा प्राप्त गरेका पुरस्कारहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा अतिथिहरूको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा अन्य पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक समितिका सदस्य शिवहरि थापाद्वारा स्थापित जेएसडी अक्षयकोषबाट प्रदान गरिने शैक्षिक सहयोग कार्यक्रम पनि सम्पन्न गरिएको थियो। उक्त अक्षयकोषमार्फत कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका तीन जना जेहेन्दार विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको थियो। अक्षयकोषकी संरक्षक कल्पना थापाले ती सामग्री विद्यार्थीहरूलाई वितरण गरेकी थिइन्।

विद्यालयका एक्जाम तथा ईसीए कोअर्डिनेटर दीपक तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो अवसरमा बोल्दै प्रिन्सिपल श्रेष्ठले विद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास र आत्मनिर्भर भविष्य निर्माण रहेको बताए। उनले भने,
“हाम्रो उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास र आत्मनिर्भर भविष्य सुनिश्चित गर्नु हो। हाम्रो शिक्षण विधिले उनीहरूलाई सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता र नेतृत्व क्षमता सहितको सक्षम युवा बनाउने प्रयास गर्दछ।”

उनका अनुसार विद्यालयले आधुनिक शिक्षण विधिको प्रयोग, प्रयोगात्मक विज्ञान शिक्षण, कम्प्युटर तथा सामाजिक अध्ययन कक्षाको सुदृढ व्यवस्था, पर्याप्त पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा सन्दर्भ सामग्रीको व्यवस्था गर्दै आएको छ।

त्यसैगरी विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण प्रणाली, कमजोर विद्यार्थीको सुधारका लागि विशेष कक्षा, मानसिक स्वास्थ्य तथा युथ काउन्सिलिङ, बाल क्लब सञ्चालन, अभिभावकसँग नियमित अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

विद्यालयले हरेक हप्ता एक दिन अतिरिक्त क्रियाकलापका लागि छुट्याउँदै इनडोर तथा आउटडोर खेलकुद, एथलेटिक्स, नृत्य, संगीत, चित्रकला, गायन, मार्सल आर्ट, हस्तलेखन लगायतका गतिविधि सञ्चालन गर्ने गरेको पनि उनले बताए। साथै विद्यार्थीहरूको सहज आवागमनका लागि व्यवस्थित यातायात सेवा तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम समेत सञ्चालनमा रहेको जानकारी दिइएको छ।

श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै विद्यालयले विभिन्न सहयोगात्मक कार्यक्रमहरू समेत गर्दै आएको छ। आगामी दिनमा अभिभावकहरूले खोजेको “पूर्ण शैक्षिक गन्तव्य”का रूपमा लिन इन्टरनेशनल बोर्डिङ स्कुललाई अझ सुदृढ बनाउँदै अघि बढ्ने विद्यालय प्रशासनको योजना रहेको उनले बताए। हाल विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको पनि उनले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आगामी दिनमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि निजी र सार्वजनिक विद्यालयबीच समन्वित सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार राज्यले निजी विद्यालयलाई रोक्ने होइन, सुदृढ नियमन, सहकार्य, पारदर्शिता र गुणस्तरीय प्रतिस्पर्धामार्फत उपयोग गर्नु नै नेपालको शैक्षिक विकासको दीर्घकालीन नीति हुनुपर्ने बताए। साथै उनले लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपामा उच्चस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित हुँदै गएको पनि बताए।

रजत जयन्ती तथा अभिभावक दिवसको दोस्रो तथा अन्तिम दिन आज विभिन्न सम्मान कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा अन्य विशेष कार्यक्रमसहित सम्पन्न हुने विद्यालयले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।