काठमाडौं- नेपाल आयल निगमले आज शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै एलपी ग्यास वितरण गर्ने निर्णय गरेको छ। ग्यास आपूर्तिमा देखिएको चापलाई व्यवस्थापन गर्न निगमले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास खरिद गर्न सक्नेछन्। उनले आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको मूल्यको आधा नै कायम गरिएको जानकारी दिए।

उनका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण ऊर्जा बजारमा अस्थिरता देखिएको छ। त्यसका कारण ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले बजारलाई सहज बनाउन निगमले आधा सिलिन्डर वितरणको नीति लागू गरेको हो।

कार्यकारी निर्देशक भट्टले आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्तासम्म ग्यास पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार पहिले १ हजार जनाले ग्यास प्राप्त गर्ने अवस्थालाई अब दोब्बर बनाउँदै करिब २ हजार जनासम्म ग्यास पुग्ने अपेक्षा गरिएको छ।

निगमका अनुसार यो व्यवस्थाले उपभोक्ताहरूले अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घटाउने विश्वास गरिएको छ। आपूर्ति प्रणालीलाई सन्तुलित बनाउँदै उपभोक्ताको पहुँच सुनिश्चित गर्न यस्तो अस्थायी कदम चालिएको निगमले जनाएको छ।

निगमले ग्यासको आपूर्ति सामान्य अवस्थामा फर्किएपछि वितरण प्रणालीलाई पुनः नियमित बनाइने पनि संकेत गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।