बनेपा- काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ अौ बार्षिकोत्सब “रजत जयन्ती” तथा अभिभावक दिवसको दुई दिने कार्यक्रम विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालयको आज सम्पन्न भएको “रजत जयन्ती” तथा अभिभावक दिवसको यो दोस्रो दिनको कार्यक्रममा भने कक्षा चार देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो विविध कला, क्षमता र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने, सोही तहका विद्यार्थीहरूलाई २०८१ को शैक्षिक लगायत २०८२ को विभिन्न अतिरिक्त कृयाकलापमा उनिहरूले प्राप्त गरेका पुरस्कारहरू कार्यक्रममा उपस्थित अतिथिहरू बाट वितरण गरिएको थियो ।
विद्यालयको एक्जाम तथा इसिए को-अर्डिनेटर दिपक तामाङको संचालनमा भएको विद्यालयको यो विशेष रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रममा २०८१ मा एस. ई. ई. पास आउट भएका १५ जना विद्यार्थीहरूलाई विदाई तथा अभिभावक सम्मान, विद्यार्थीहरूलाई २०८२ को शैक्षिक तथा अतिरिक्त कृयाकलापका पुरस्कार वितरण कार्यक्रम, विद्यालय मार्फत नगर,जिल्ला, प्रदेशमा विभिन्न गायन, नृत्य, आर्ट, मार्सल आर्ट लगायतका विधागत उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा शिक्षक/ शिक्षिका सम्मान कार्यक्रम, विद्यालयलाई रजत जयन्ती सम्म आइपुग्दा विभिन्न साथ, सपोर्ट र योगदान प्रदान गर्नुहुने शिक्षक/ कर्मचारी, विद्यालयका विभिन्न समितिमा बसेर योगदान गर्नुहुने- त्रिरत्न राजवाहक, अनुशा जस्पाउ, लक्ष्मी मानन्धर, होमकुमारी दोङ, मिनराज के सी, शिवहरि थापा, मारमेन तामाङ तथा पूर्व संचालकहरू प्रकाश उलक, याधव फैजूलाई विद्यालय संचालक समितिको तर्फबाट संचालक रक्तिम लामा र राजिब लामाले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको यस अवसरमा विद्यालय संचालनको लागि विगत १७ बर्ष देखि आफ्नो घर प्रदान गर्दै यस भेगको शैक्षिक उनन्नयको लागि गर्नु भएको योगदानको कदर गर्दै घरबेटी गणेश भक्त ख्याजु र उहाँकी धर्मपत्नी कृष्ण देवी ख्याजूलाई विद्यालय संचालकको तर्फबाट विद्यालयका निर्देशक शिशिर भण्डारी र प्रमुख अतिथी भिमसेन के सीबाट दोसल्ला अोढाई सम्मान गरिएको थियो । साथै सो अवसरमा कार्यक्रमको विशेष अतिथीको रूपमा रहनु भएका काभ्रे प्याब्सनका संस्थापक अध्यक्ष तथा बालबाटिका विद्या मन्दिर स्कुल, वनेपाका डाइरेक्टर रवि वैद्यलाई पनि उहाँले काभ्रेको निजी शिक्षा र शैक्षिक संस्थालाई गर्नु भएको योगदानको कदर गर्दै दोसल्ला अोढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गत बर्षदेखि गरिदै आएको विद्यालयका शिक्षक अभिभावक समितिका सदस्य श्री शिबहरि थापाद्वारा निर्मित जे एस डी अक्षेयकोषबाट विभिन्न शैक्षिक सामाग्रीहरू- प्रि प्राईमरी, प्राइमरी र माध्यमिक गरि प्रत्येक तहका २/२ जना गरि ६ जना उत्कृष्ट र जेहन्दार विद्यार्थीलाई अक्षयकोषकी संरक्षक कल्पना थापा मार्फत छात्रवृत्ति वितरण पनि गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूका तहगत र विधागत विभिन्न रोचक प्रतिभा र साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुको अलवा यस बर्ष विद्यालयले आफ्नो क्यालेण्डर अनुसार आयोजना गरेको विविध अतिरिक्त कृयकलाप ( ई.सि.ए.) मा विद्यार्थीहरूका आ-आफ्ना सदनगत प्रतिसपर्धामा सहभागीता भै उत्कृष्टता हासिल गर्ने हरियो सदन यस बर्षको हाउस अफ द इअर घोषणा भएको छ । भने उक्त विजेता हरियो सदनलाई विद्यार्थीहरूको प्रतिसपर्धी क्षमताको विकासको लागि प्रोत्सान स्वरूप सदा झै विद्यालयबाट प्रदान गरिदै आएको उपहार नगद रू १०००००/-(एक लाख) को चेक र ट्रफी विद्यालयका निर्देशक शिशिर भण्डारी र प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा प्रदान पनि गर्नु भयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल श्री श्रीकृष्ण श्रेष्ठले हिजो कार्यक्रममा स्वागत मन्तव्यको साथै विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा प्रिन्सिपल श्री कृष्ण श्रेष्ठले भन्नु भएको थियो – “हाम्रो उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गिण विकास र आत्मनिर्भर भविष्य सुनिश्चित गर्नु हो। हाम्रो शिक्षण विधिले उनीहरूलाई सिर्जनशील सोच, समस्या समाधान, क्षमता र नेतृत्व क्षमता सहितको सक्षम युवा/ युवती बनाउने प्रयास गर्दछ।”
उहाँको अनुसार – जस्को लागी विद्यालयले आधुनिक शिक्षण विधिको सोध र कार्यान्वयन, प्रयोगात्मक विज्ञान, कम्प्युटर, सामाजिक कक्षा, पर्याप्त पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, अन्य सन्दर्भ सामाग्री, अतिरिक्त गतिविधिमा जोड, विद्यार्थी केन्द्रित सिकाई, व्यक्तिगत ध्यान र कमजोर विद्यार्थीको सुधारमा विशेष पहल, मानसिक स्वास्थ्य तथा युथ काउन्सिलिङका विशेष कक्षा, बाल क्लब, अभिभावक अन्तरक्रिया, हप्तामा एक विशेष दिन अतिरिक्त गतिविधिहरू: इनडोर र आउटडोर विवध खेलकुद, एथलेटिक्स , नृत्य, म्युजिक, चित्रकला, गायन, मार्सल आर्ट, हस्तलेखन आदिको आयोजना र व्यवस्थित यातायात प्रवाहको साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको लागि छात्रवृत्ति, सामाजिक उत्तरदायित्वबोधका लागि सहयोग कार्यक्रम गर्दै आएको कुरा बताउनु भएको थियो ।
आगामी दिनमा अझै अभिभावकले खोजेको पूर्ण शैक्षिक गन्तव्यको रूपमा लिन स्कुललाई अगाडि बढाउने स्कुल प्रशासनको योजना रहेको पनि उहाँको भनाई थियो । श्रेष्ठले हाल विद्यालयमा करिब ६ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेको पनि बताउनु भएको थियो ।
कार्यक्रमको आजको दोस्रो दिनको प्रमुख अतिथी प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के सीले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको ठूलो भूमिका रहेको बताउनु हुदै- आज लिन स्कुल बनेपामा उच्च स्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्ने संस्थाको रूपमा अग्रपंक्तिमा लागि रहेको कुरा बताउनु भयो ।
लिन स्कुलले आजको अभिभावकको चाँहना अनुरूप शिक्षा, अनुशासन, नैतिकता र सिर्जनशीलतामा केन्द्रित भएर बालबालिकालाई दिक्षीत गरिरहेको र विद्यालयले पनि आफ्ना प्रत्येक विद्यार्थीको व्यक्तिगत उपलब्धिलाई आफ्नो सफलता मानेको बताउनु भयो । सदस्य विद्यालयको रूपमा लिनले पछिल्ला बर्षहरूमा आर्जन गरेको आम अभिभावकको विश्वास, यसको शैक्षिक विकास, विविध अतिरिक्त कृयाकलापमा हासील गरेको उपलब्धिप्रति खुशी व्यक्त गर्दै धन्यवाद पनि दिनुभयो ।
कार्यक्रकका सभापति विद्यालयका निर्देशक शिशिर भण्डारीले लिनबाट दिक्षित विद्यार्थीहरूले जीवनका प्रत्येक पक्षमा सन्तुलित विकास, ज्ञान, सीप, मूल्य, प्रतिस्पर्धात्मक क्षमता र आत्मनिर्भर जीवन व्यतित गर्ने कुरा बताउनु भयो। भण्डारीका अनुसार विद्यालयले विद्यार्थीलाई सृजनशील, अनुशासित, कुशल, उद्योगी, संस्कार र सामाजिक उत्तरदायी नागरिक बनाउने लक्ष्य लिएको छ।
जस अनुरूप पढाइ, अतिरिक्त गतिविधि, मूल्य–मान्यता, संस्कार र शिक्षणमा नवप्रवर्तनको सम्पूर्ण संयोजनका कारण बनेपामा लिन इन्टरनेशनल बोर्डिङ स्कुल नै आजका अभिभावकको पहिलो रोजाइ बनेको र गुणस्तरीय शिक्षा, सर्वाङ्गिण विकास, सुरक्षित र सृजनशील वातावरणको लागि यो विद्यालय सुदृढ विकल्पको रूपमा स्थापित भएको उहाँको भनाई थियो ।
आज सम्पन्न उक्त कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल लगायतका व्यक्तिहरूले विद्यालयको कार्यक्रम सफलताको साथै विद्यालयको आगामी यात्रा र यहाँ अध्ययनरत विद्यार्थीहरूको उज्वल भविष्यको लागि शुभकामना मन्तब्य राखेका थिए । विद्यालयको दुवै दिनको कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूको सतप्रतिशत उत्साहजनक उपस्थिति रहेको थियो भने, उक्त कार्यक्रम नमस्ते ख्वप्प टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























