पाँचखाल- काभ्रेको पाँंचखाल नगरपालिका–१ अनैकोटमा “महान सांस्कृतिक सहिदहरू” को सम्झनामा २८औँ सांस्कृतिक सहिद दिवस आज विभिन्न कार्यक्रमसहित मनाइने भएको छ।
कार्यक्रमको आयोजक नेपाली कम्युनिस्ट पार्टी पाँंचखाल नगर १ नं. वडा समिति रहेको छ। आयोजकका अनुसार सांस्कृतिक सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको प्रतिमा अनावरण तथा सहिद एवं बेपत्ता योद्धा परिवारलाई सम्मान गर्ने मुख्य उद्देश्य रहेको छ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य वर्षमान पुन प्रमुख अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ। साथै, जनसांस्कृतिक महासंघका अध्यक्ष भिम कुमाखी, वरिष्ठ संगीतकार प्राज्ञ चेतन सापकोटा लगायतका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहने जनाइएको छ।
यस अवसरमा चर्चित कलाकारहरूद्वारा विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ। कार्यक्रममा विश्व दोङ, झंकार बुढा मगर, मणी थापा, केशर कालिकोटे, माइला लामा लगायत जनकलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























