अनैकोट- निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि निराश वा विचलित नहुन आग्रह गर्दै वर्षमान पुनले पार्टी पङ्क्तिलाई आत्मसमीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्न आह्वान गरेका छन् ।

काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब “धुलो टकटकाएर” पुनः संगठित हुँदै अघि बढ्ने बताए। विचार, राजनीति, संगठन, नेतृत्व र कार्यशैलीको पुनर्मूल्यांकन गरेर जनताको भावना र देशको आवश्यकताअनुसार पार्टीलाई पुनर्गठन गरिने उनको भनाइ थियो।

पुनले जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको रूपमा हेरेर मत दिएको स्वीकार गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए। उनले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाउने वा विध्वंसात्मक गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै जनताको धारणा बदल्न पुनः जनतामाझ जानुपर्ने धारणा राखे।

“अहङ्कार, विचलन र निराशा होइन, शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले उठ्नुपर्छ,” उनले भने, “जनयुद्धका क्रममा पनि धेरै हार–क्षति भए, तर नेतृत्व पछि हटेन। अहिले पनि हामीले आत्मसमीक्षा गरेर नयाँ बाटो समात्नुपर्छ।”

जनताले निर्वाचनमार्फत नयाँ भनिएका शक्तिलाई समर्थन गर्दै पुराना दललाई कार्यशैली सुधार्न सन्देश दिएको उल्लेख गर्दै पुनले त्यसलाई अवसरका रूपमा लिनुपर्ने बताए। “जनताको अभिमत स्वीकार्नुपर्छ र त्यसले दिएको चेतावनीलाई सुधारको अवसर बनाउनु पर्छ,” उनले जोड दिए।

उनले पुष्पकमल दाहाल नेतृत्वमा थोरै कार्यकर्ताबाट सुरु भएको जनयुद्धले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धि दिलाएको स्मरण गराउँदै पुनः रूपान्तरणसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै, उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुशासन, रोजगारी र सन्तुलित कूटनीतिक सम्बन्धमार्फत देशको स्वाधीनता सुदृढ गर्न सबै राजनीतिक शक्तिहरूले भूमिका खेल्नुपर्ने बताए। साथै, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनअपेक्षा अनुसार काम गर्न सुझाव दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।