रौतहट- रौतहट प्रहरीले चन्द्रनिगाहपुरस्थित एक रिसोर्टबाट नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ । व्यावसायिक यौन गतिविधि भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा नक्कली सुन र अन्य सामग्री बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
प्रहरीका अनुसार भारतबाट आएका व्यक्तिहरू बस्ने र आपराधिक गतिविधिमा संलग्न मानिसहरूको आवतजावत बढेको सूचनापछि मंगलबार प्रहरी टोली जगत रिसोर्ट पुगेको थियो। रिसोर्टको कोठा नम्बर १०२ मा चेकजाँच गर्दा नक्कली सुनजस्तो देखिने धातु बरामद गरिएको थियो।
अरबिन्द चौधरीको पर्सभित्र ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९’ लेखिएको प्याकेटमा राखिएको पहेँलो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको २ थान गरी जम्मा ७ थान नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै घटनास्थलबाट मोबाइल फोन ६ थान र ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको एन्टिक म्याग्निफाइङ बाइनोकुलर १ थान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नक्कली सुन बोकेर हिँडेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























