काठमाडौं । उज्यालो नेपाल पार्टी बागमती प्रदेश समितिको आयोजनामा ‘बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम युनिभर्सल रिसेप्सन, सुकेधारामा आयोजना गरिएको हो।

कार्यक्रममा पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता, अगुवा तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले आफ्नो राजनीतिक यात्राको अनुभव सुनाउँदै पहिलोपटक निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “म सधैं हरेक क्षेत्रमा पहिलो भएको मान्छे, जिन्दगीमा पहिलो पटक निर्वाचनमा हारेँ, तर त्यो हारले मलाई अझ सशक्त ढंगले अगाडि बढ्न अवसर दिएको छ।”

उहाँले हारलाई कमजोरी नभई सिकाइको अवसरको रूपमा लिन आग्रह गर्दै पार्टीलाई सुदृढ बनाउँदै आगामी दिनमा जनताको विश्वास जित्ने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, संगठन सुदृढीकरण, प्रशिक्षण र नेतृत्व विकासमार्फत पार्टीलाई अझ मजबुत बनाउने लक्ष्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा पार्टीका अन्य केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले पनि संगठन विस्तार, राजनीतिक प्रशिक्षण, र आगामी रणनीतिका विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले कार्यक्रमले पार्टीको विचार, नीति र रणनीतिलाई अझ स्पष्ट बनाएको प्रतिक्रिया दिएका छन्।

चैत्र ११, २०८२ मा सम्पन्न उक्त कार्यक्रमलाई आगामी दिनमा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप गतिशील बनाउने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

कार्यक्रम वागमती प्रदेशको संयोजक प्रविन लामा वलको सभापतित्वमा  सम्पन्न भएको थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।