काठमाडौँमा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केही कुख्यात गुण्डा समूहमा आबद्ध व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।
गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १३ जनालाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा ‘काभ्रेली समूह’मा आबद्ध व्यक्तिहरू धेरै रहेका छन्।
पक्राउ पर्नेहरूमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोकका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेका छन्। सुरेश गुरुङ गुण्डा नाइके श्याम लामा समूहका सदस्य रहेको प्रहरीले जनाएको छ भने श्याम लामा हाल फरार रहेका छन्।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ रहेका छन्।
प्रहरीका अनुसार प्रवीण तामाङ बौद्ध क्षेत्रमा, बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा, सुजन कार्की कलंकी क्षेत्रमा तथा सरु हुमागाईँ स्युचाटार क्षेत्रमा गुण्डागर्दी गतिविधिमा संलग्न रहेका थिए। प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियानलाई अझ कडाइका साथ अगाडि बढाइने जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























