खानीखोला– काभ्रे जिल्लाका खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ले ठेक्का लिएका तर समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरूलाई कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।
अध्यक्ष थिङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारी अनुसार प्रदेश तथा स्थानीय तहबाट विभिन्न मितिमा ठेक्का सम्झौता भएका केही विकास योजनाहरूको काम समय गुज्रिसक्दा पनि सम्पन्न नभएको बताएका छन्। गाउँपालिकाले पटक–पटक पत्रमार्फत ताकेता गर्दा पनि सम्बन्धित निर्माण कम्पनीहरूले बेवास्ता गरिरहेको भन्दै गाउँपालिका गम्भीर बनेको उनले उल्लेख गरेका छन्।
गाउँपालिकाले ठेक्का भएका योजनाहरूको कामको गुणस्तरबारे पनि अनुगमन गरिरहेको र त्यससम्बन्धी जानकारी सम्बन्धित निकायहरूमा पठाइएको अध्यक्ष थिङले बताएका छन्।
उनका अनुसार यदि निर्माण कम्पनीहरूले ढिलासुस्ती र लापरबाहीलाई निरन्तरता दिएमा सार्वजनिक सूचना मार्फत कम्पनीहरूको नाम प्रकाशन गरिने र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै निर्माण कम्पनीहरूलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























