काठमाडौं । नव वर्ष २०८३ लाई उल्लासपूर्ण र स्मरणीय बनाउने उद्देश्यका साथ राजधानीको लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लब मा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। आगामी ३० चैत बेलुका ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रम नव वर्षको पूर्वसन्ध्यामा दर्शकलाई मनोरञ्जनको अनुपम अनुभव दिने लक्ष्यसहित आयोजना गर्न लागिएको हो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक बिशाल काल्तन को विशेष लाइभ प्रस्तुति रहने आयोजकले जनाएको छ। आफ्ना लोकप्रिय गीत तथा ऊर्जाशील स्टेज प्रस्तुतीका लागि परिचित काल्तनको प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

क्लबका सञ्चालक सुनिल छेवाङ लामाका अनुसार कार्यक्रममा केवल गीत–संगीत मात्र नभई विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू समावेश गरिनेछन्। दर्शकहरूले लाइभ लोक दोहोरी, मौलिक तामाङ सेलो, आकर्षक सांस्कृतिक तथा आधुनिक नृत्य, कमेडी शो, DJ Night र मध्यरातमा विशेष काउन्टडाउनसहित नयाँ वर्षको स्वागत गर्ने अवसर प्राप्त गर्नेछन्। “नयाँ वर्षलाई उत्साह, उमंग र सांस्कृतिक रंगमा डुबाएर स्वागत गर्ने हाम्रो लक्ष्य हो,” उनले बताए।

यस कार्यक्रममार्फत नेपाली मौलिक सांस्कृतिक परम्परा र आधुनिक मनोरञ्जनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ। विशेषगरी युवा पुस्ता र सांगीतिक पारखी दर्शकलाई लक्षित गर्दै कार्यक्रमको संरचना तयार गरिएको छ, जसले सबै उमेर समूहलाई आकर्षित गर्ने विश्वास लिइएको छ।

रोयल नेपाल रोधी क्लब पछिल्लो समय राजधानीमा मौलिक सांगीतिक कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतीमार्फत लोकप्रिय बन्दै गएको छ। यहाँ आयोजना हुने कार्यक्रमहरूमा नेपाली लोकसंस्कृतिको झल्को पाइने भएकाले दर्शकको उल्लेखनीय सहभागिता रहने गरेको छ। यही निरन्तरतामा यसपटकको नव वर्ष विशेष कार्यक्रम अझ भव्य, व्यवस्थित र उच्चस्तरीय बनाइने आयोजकको दाबी छ।

कार्यक्रमका लागि सिट संख्या सीमित रहेकाले इच्छुक दर्शकलाई समयमै अग्रिम बुकिङ गर्न अनुरोध गरिएको छ। आयोजकका अनुसार कार्यक्रमप्रति दर्शकको उत्साह उल्लेखनीय रहेको र सहभागीको चाप उच्च रहने अनुमान गरिएको छ।

नव वर्ष २०८३ को स्वागतसँगै संगीत, संस्कृति र मनोरञ्जनको संगममा रमाउने अवसरका रूपमा यो कार्यक्रमलाई हेरिएको छ, जसले काठमाडौंको सांगीतिक माहोललाई थप रंगीन बनाउने विश्वास गरिएको छ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।