सिन्धुपाल्चोक- जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा बिचौलिया जालमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पीडित तथा पीडितका परिवारलाई मिलापत्र गर्न दबाब, धम्की र प्रभाव पार्दै गैरकानुनी रूपमा आर्थिक लेनदेन गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका–१ स्थित स्थानबाट २०८२ साल फागुन १९ गते ७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा २७७(क) बमोजिम “मिलापत्र गर्न वा गराउन नहुने कसुर” सम्बन्धी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का  श्रीकृष्ण दोङ (४५ वर्ष), माइली दोङ (५० वर्ष), शुसिला दोङ (४७ वर्ष), विमकुमार दोङ (४२ वर्ष), विशाल दोङ (३९ वर्ष), नेत्र दोङ (३२ वर्ष), डेमा छिरिङ लामा (५२ वर्ष) रहेका छन् । उनीहरुको साथबाट नगद रु. ५,१६,९३२, ग्लोबल आईएमई बैंकको नेत्र दोङको नाममा काटिएको रु. ९,६०,००० को चेक, सिद्धार्थ विकास बैंकको तारा स्याङ्बोको नाममा काटिएको रु. ७५,००० को चेक, विभिन्न कम्पनीका ७ थान मोबाइल फोन बरामत गरेको छ ।

प्रहरीले गम्भीर प्रकृतिका अपराधमा मिलापत्र गराउने, दबाब दिने वा प्रभाव पार्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै यस्ता गैरकानुनी गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउने कार्यमा सबैको सहयोग अपेक्षा गरेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।