बनेपा- प्रगतिशील लेखक सङ्घ (प्रलेस) काभ्रेको आयोजनामा बनेपामा शनिबार विशेष काव्य गोष्ठी तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। शिक्षक सङ्गठनको सभाहलमा आयोजित कार्यक्रममा कवि मुरहरि रायमाझीको कविता सङ्ग्रह ‘के छैन नेपालमा ?’ सार्वजनिक गरिएको हो।
प्रलेसका केन्द्रीय कोषाध्यक्ष तथा साहित्यकार डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) को प्रमुख आतिथ्यता र प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कृतिमाथि टिप्पणी गर्दै विशिष्ट अतिथि प्रा. डा. सीता सुवेदी पन्थीले रायमाझीका कवितामा देशप्रेम, सामाजिक यथार्थ र परिवर्तनको सशक्त स्वर अभिव्यक्त भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्ण सुवेदी र विशिष्ट अतिथि प्रा. डा. सीता सुवेदी पन्थीलाई सम्मान गरिएको थियो भने कृतिकार रायमाझीलाई ‘स्रष्टा विशेष’ अन्तर्गत प्रशंसा–पत्र प्रदान गरिएको थियो।
गोष्ठीमा दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूले समसामयिक कविता, गीत र गजल प्रस्तुत गरेका थिए। प्रस्तुत रचनामाथि टिप्पणी गर्दै प्रमुख अतिथि डा. सुवेदीले काभ्रेली साहित्यको उर्वरता र प्रगतिशील चेतको प्रशंसा गर्नुभयो।
नवराज उत्साहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम श्रीकृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका साहित्यकार, समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















