बनेपा- काभ्रेपलाञ्चोक जिल्लामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको चैत १८ गते बसेको बैठकको निर्णयअनुसार प्रतियोगिता २०८३ वैशाख ७ देखि ९ गतेसम्म बनेपामा आयोजना गरिने खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइबाले एक सूचजना जारी गर्दै जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि जिल्लाभित्र रहेका सम्पूर्ण स्थानीय तहलाई टिम दर्ता गराउन अध्यक्ष वाइबाले आग्रह गरेका छन् । समितिले वैशाख २ गतेसम्म टिम दर्ता गरिसक्न सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ।

प्रतियोगिताले जिल्लाभित्र खेलकुद गतिविधि विस्तार गर्न र प्रतिभावान खेलाडी पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच  तेस्रो बागमती अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका आगामी जेठ २४ गतेदेखि २७ गतेसम्म हुने भएकोले खेलाडी छनौटको लागि काभ्रे जिल्ला खेलकुद विकास समितिले अनुरोध गरेको छ । अध्यक्ष वाइबाले प्रतियोगितामा सहभागी हुन इच्छुक काभ्रेपलाञ्चोक जिल्लाका खेलाडीहरूलाई जिल्ला छनौट प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।

‘खेलाडी छनौटका लागि मिति २०८३ बैशाख १५ गते सम्म तोकिएको छ। खेलाडी फर्म जिल्ला खेलकुद विकास समितिको कार्यालय, बनेपाबाट प्राप्त गर्न सकिनेछ र सोही स्थानमा दर्ता गराउनु पर्नेछ। फर्म दर्ता गर्ने समय दिउँसो ३:०० बजे सम्म तोकिएको छ।’ वाइबाले भने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।