बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने झन्झटिलो अवस्थाको अन्त्य भएको घोषणा गरेका छन् । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अबदेखि ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापिने व्यवस्था आजैबाट कार्यान्वयनमा आएको जानकारी दिए ।

विगतमा इच्छाशक्ति र तत्परताको अभावले गर्दा करिब एक अर्ब रुपैयाँ बराबरका मेसिन र उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएर बसेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती उपकरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिए ।

मन्त्री तिमिल्सिनाले आगामी असार मसान्तभित्र बाँकी रहेका सबै लाइसेन्सहरू छापिसक्ने लक्ष्य राखिएको बताउँदै सरकार कसैको स्वार्थमा नभई जनताको चाहना र हितमा मात्र चल्ने प्रस्ट पारे ।  सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले हाल दैनिक ४० हजारको हाराहारीमा लाइसेन्स छपाइ भइरहेको र वैशाख १२ गतेभित्र १२ लाख तथा असार मसान्तसम्म बाँकी १७ लाख लाइसेन्स छापिसक्ने कार्यतालिका रहेको जानकारी दिए ।

केन्द्रलाई भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड र अन्तःशुल्क स्टिकर जस्ता महत्त्वपूर्ण कागजात छाप्न सक्ने गरी बलियो संस्थाका रूपमा विकास गर्न ८ अर्बको व्यावसायिक योजना सरकारसमक्ष पेस गरिएको छ। साथै, मन्त्री तिमिल्सिनाले देशैभर मोबाइल र इन्टरनेट सेवाको गुणस्तर सुधार गर्दै एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने मन्त्रालयको प्राथमिकता रहेको समेत उल्लेख गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।