चुडामणी तिमल्सिना

काभ्रे । काभ्रे जिल्लाको वेथान चोक गाउँपालिका–१ अन्तर्गतका सामुदायिक विद्यालयहरूमा लामो समयदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ। सेवा प्रदायक कम्पनी ‘अल्ट्रा नेट’को लापरबाहीका कारण २०८२ साल असोज महिनादेखि वाइफाइ नचल्दा पठनपाठनमा समस्या भएको सम्बन्धित विद्यालयहरूले जनाएका छन्।

श्री भैरव माध्यमिक विद्यालय, श्री वाघभैरव प्राथमिक विद्यालय, श्री त्रिवेणी प्राथमिक विद्यालय लगायत गरी पाँच वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। विद्यालय प्रशासनका अनुसार पटक–पटक सेवा सुचारु गर्न अनुरोध गर्दा पनि कम्पनीले “आज–भोलि बन्छ” भन्दै टार्दै आएको छ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा डिजिटल माध्यमबाट हुने कक्षा सञ्चालन, शैक्षिक सामग्री डाउनलोड तथा प्रशासनिक काममा समेत बाधा पुगेको शिक्षकहरूको भनाइ छ।

स्थानीयहरूका अनुसार गत वर्ष पनि यस्तै समस्या दोहोरिएको थियो। बारम्बार एउटै समस्या दोहोरिँदा सेवा प्रदायकप्रति असन्तुष्टि बढ्दै गएको छ।

सम्बन्धित निकायले यसतर्फ चासो नदेखाउँदा विद्यालयहरू थप समस्यामा परेको जनाइएको छ। विद्यालय तथा स्थानीय तहले तत्काल समस्या समाधान गर्न अल्ट्रा नेटसँग आग्रह गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।