भुम्लु- काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका नागरिकहरूले अब मालपोत र नापीसम्बन्धी प्रशासनिक कार्यका लागि लामो यात्रा गरेर सदरमुकाम धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ।
गाउँपालिका कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूबीच आज सम्पन्न एक महत्वपूर्ण संयुक्त बैठकले भुम्लु गाउँपालिकाबाटै सेवा प्रवाह गर्ने ऐतिहासिक निर्णय गरेको हो। स्थानीय सरकारले नागरिकका दैलोमा सेवा पुर्याउने लक्ष्य अनुरूप यो पहल सुरु गरिएको हो।
बैठकका मुख्य निर्णय र प्रतिबद्धता
आज बसेको बैठकले भुम्लु गाउँपालिकाको केन्द्रबाटै मालपोत र नापी सम्बन्धी सेवाहरूलाई व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा ठोस सहमति जुटाएको छ। यसका लागि बैठकले गाउँपालिका भित्रै मालपोत र नापीको इकाइ कार्यालय सञ्चालनका लागि आवश्यक भवन र भौतिक संरचनाको व्यवस्थापन गाउँपालिकाले गर्ने, अनलाइन प्रणाली, श्रेस्ता व्यवस्थापन र आवश्यक प्राविधिक उपकरणहरूको जडान प्रक्रियालाई अघि बढाउने र सेवाग्राहीको चाप र कार्यप्रकृतिका आधारमा आवश्यक कर्मचारी र दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गर्ने निर्णय गरेको छ ।
सुशासन र जनविश्वासमा जोड
यस निर्णयले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा विपन्न परिवारलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। सामान्य कामका लागि पनि दिनभर लगाएर सदरमुकाम पुग्दा हुने समय र खर्चको बचत हुनुका साथै प्रशासनिक झन्झट पनि कम हुनेछ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले यस ऐतिहासिक निर्णयबारे खुसी व्यक्त गर्दै भनेका छन्— “हाम्रो मुख्य उद्देश्य भनेकै भुम्लुवासीलाई सहज, प्रभावकारी र नजिकबाट सेवा दिनु हो। यो निर्णयले स्थानीय स्तरमा सुशासनको अनुभूति गराउनेछ र सेवा प्रवाहमा आम जनताको पहुँच र जनविश्वासलाई अझ मजबुत बनाउनेछ।”
समन्वयको नयाँ मोडेल
संघीयताको मर्म अनुसार स्थानीय सरकार र विषयगत कार्यालयहरूबीचको यो समन्वयलाई जिल्लाभरि नै सकारात्मक रूपमा हेरिएको छ। नापी र मालपोत जस्ता प्रत्यक्ष जनसरोकारका विषयहरूलाई स्थानीय तहबाटै सम्पादन गर्दा स्थानीय स्रोत र साधनको परिचालनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।
आजको बैठकमा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र मालपोत तथा नापी कार्यालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। सेवा सञ्चालनको अन्तिम मिति र कार्यविधि चाँडै नै सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















