✍️ मिलन दोङ तामाङ
क्वालालम्पुर – मलेसियाको अध्यागमन विभाग (JIM) ले अवैध आप्रवासी (PATI) नियन्त्रण गर्न तथा वैध कागजात र कार्य अनुमति बिना विदेशी कामदार राख्ने रोजगारदातामाथि कारबाही तीव्र बनाउँदै सेलाङ्गोरको पुचुङ क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको छ।
JIM ले देशको कानुनको संरक्षण तथा नियमविपरीत गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धताअनुसार कुनै सम्झौता नगरी कडा कारबाही जारी राखेको जनाएको छ।
पुत्रजायास्थित JIM को प्रवर्तन विभागले २०२६ मे १२ तारिख बिहान ११ बजेदेखि राति ८ बजेसम्म ठूलो स्तरको अपरेशन सञ्चालन गरेको हो। सर्वसाधारणको गुनासो र एक सातासम्मको गुप्त अनुसन्धानका आधारमा रेस्टुरेन्ट, खाद्य पसल, किराना पसल, सैलुन, लुगा धुने पसल, व्यापारिक किओस्क तथा एक ठूलो सुपरमार्केटमा छापा मारिएको थियो।
५९ जना अध्यागमन अधिकारी परिचालन गरिएको उक्त कारबाहीमा पुचुङ वरपरका ३० वटा व्यावसायिक स्थलमा जाँच गरिएको थियो। जाँचका क्रममा १८६ विदेशी र १७५ स्थानीय नागरिकमाथि निगरानी गरिएको थियो।
कारबाहीपछि इन्डोनेसिया, म्यानमार, नेपाल, बंगलादेश, भारत, पाकिस्तान र चीनका २३ देखि ४५ वर्ष उमेर समूहका ७४ विदेशी नागरिकलाई अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत विभिन्न कसुरमा पक्राउ गरिएको छ। साथै अनुसन्धानमा सहयोगका लागि पाँच जना मलेसियाली नागरिकलाई साक्षीका रूपमा “Borang 29” समन जारी गरिएको छ।
स्थानीय व्यापार लाइसेन्सको आडमा अवैध रूपमा विदेशी कामदार राखी सजिलै नाफा कमाउने उद्देश्यले यस्तो गतिविधि सञ्चालन भइरहेको अनुसन्धानबाट खुलेको JIM ले जनाएको छ।
केही अवैध आप्रवासीहरूले जाँचका क्रममा अधिकारीलाई उक्साउने, सहयोग नगर्ने, भाग्ने प्रयास गर्ने तथा विभिन्न बहाना प्रयोग गरेर कारबाहीबाट बच्न खोजेको पनि उल्लेख गरिएको छ। यस्ता गतिविधिले देशको कानुन मात्र उल्लंघन नगरी सार्वजनिक शान्ति र स्थानीय समुदायको सुरक्षामा समेत असर पुर्याउने JIM को भनाइ छ।
पक्राउ परेका सबै विदेशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।
JIM ले अवैध रूपमा बसोबास गर्ने, भिसा अवधि नाघेर बस्ने तथा पास दुरुपयोग गर्ने विदेशीहरूमाथि कुनै सम्झौता नगर्ने चेतावनी दिएको छ। साथै अवैध आप्रवासीलाई रोजगारी दिने वा संरक्षण गर्ने रोजगारदाता तथा अन्य पक्षमाथि पनि कडा कारबाही गरिने जनाएको छ।





















