मण्डनदेउपुर- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले विद्यालयहरूमा साताको दुई दिन दिइँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको छ। नगरपालिकाको नगर कार्यपालिकाको बैठकले आइतबारको सार्वजनिक बिदा खारेज गरी विद्यालयको पठनपाठन नियमित गर्ने निर्णय गरेको हो।

नगरपालिकाद्वारा जारी सूचना अनुसार, अब आगामी आइतबारदेखि नै नगरभित्रका सबै शैक्षिक संस्थाहरूमा नियमित रूपमा पठनपाठन सुचारु हुनेछ।

नेपाल सरकारले परीक्षणका रूपमा साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय लागू गरेपछि मण्डनदेउपुरका विद्यालयहरू पनि आइतबार बन्द रहँदै आएका थिए। तर, यो व्यवस्थाले विद्यालयमा हुनुपर्ने वार्षिक शिक्षण सिकाइका दिनहरू र समय अपुग भएको ठहर नगरपालिकाले गरेको छ।

नगरपालिकाले दुई दिन बिदा दिँदा विद्यार्थीहरूको सिकाइ उपलब्धि र तोकिएको पाठ्यभार पूरा गर्न कठिन भएको,  स्थानीय भौगोलिक विकटताका कारण समय व्यवस्थापनमा चुनौती र  बर्खायाममा वर्षाका कारण विद्यालय नियमित गर्न नसकिने विषम परिस्थितिलाई मध्यनजर गर्दै बाँकी समयमा पढाइलाई तीव्रता दिनुपर्ने आवश्यकता औल्याएको छ ।

यसैबीच नगर कार्यपालिकाको मिति २०८३/०२/०१ गते बसेको बैठकले हाल कायम रहेको आइतबारको बिदा स्थगित गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “आगामी आइतबारबाटै लागू हुने गरी विद्यालयमा आइतबारको दिन नियमित पठनपाठन हुने व्यवस्था गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।”

यो निर्णयसँगै अब मण्डनदेउपुर नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा साताको ६ दिन नै पढाइ हुने भएको छ। नगरपालिकाको यस कदमलाई विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिन नदिने प्रयासका रूपमा हेरिएको छ ।

हेर्नुहोस् सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।