बनेपा- काठमाडौंका विभिन्न स्थानमा बिना इजाजत अवैध रूपमा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) सञ्चालन गरी ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे, चौरीदेउराली गाउँपालिकाका सभापति श्रीमान लामासहित ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा ठगी भइरहेको उजुरी र गुनासोका आधारमा शुक्रबार ९५ वटा कन्सल्टेन्सीमा एकैसाथ छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चौरीदेउराली गाउँपालिकाका रास्वपा सभापति लामाले बिना दर्ता कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए। उनी केही समयअघि मात्रै पार्टीको गाउँपालिका सभापतिमा चयन भएका थिए।
छुटाउन सांसदहरूको दबाब, प्रहरीद्वारा अस्वीकार
प्रहरी हिरासतमा रहेका नेता लामालाई छुटाउन काभ्रेका सांसदहरूले प्रहरी प्रशासनलाई चर्को दबाब दिएको खुलेको छ। तर, प्रहरीले घटनाको अनुसन्धान जारी रहेकाले कानुनी प्रक्रिया पूरा नभई कसैलाई पनि छाड्न नमिल्ने अडान राख्दै उनीहरूलाई फर्काइदिएको छ।
मापदण्ड विपरीतका कन्सल्टेन्सीमाथि निगरानी
प्रहरीका अनुसार पक्राउ परेका सञ्चालकहरूले सरकारी मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता एवं नवीकरण समेत नगरी बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण जस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए।
यसअघि पनि काभ्रेका १३ वटा शैक्षिक परामर्श केन्द्रमा अनुगमन गर्दा कैफियत भेटिएका २ वटामा शिलबन्दी गरिए तापनि सञ्चालकहरू भने पक्राउ परेका थिएनन्। यस पटक भने प्रहरीले कडा रूपमा प्रस्तुत हुँदै सञ्चालकहरूलाई नै नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको हो।
पीडितलाई सम्पर्क गर्न प्रहरीको आग्रह
प्रहरी उपरीक्षक रामेश्वर कार्कीले काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा शैक्षिक परामर्शका नाममा ठगी धन्दा मौलाउँदै गएको बताउनुभयो। उहाँले यस्ता अवैध शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका सर्वसाधारण तथा विद्यार्थीहरूलाई यथाशीघ्र प्रहरीको सम्पर्कमा आउन समेत आग्रह गर्नुभएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















