तेमाल- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ९, मैनाजाङले स्थानीय नागरिकहरूलाई पायक पर्ने स्थानमै प्रशासनिक र स्वास्थ्य सेवाहरू उपलब्ध गराउन ‘गाउँघर घुम्ती सेवा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत वडा कार्यालयले यो सूचना जारी गरेको हो।

वडा अध्यक्ष चन्द्र बहादुर तामाङद्वारा हस्ताक्षरित सूचना अनुसार यो विशेष कार्यक्रम आगामी जेठ ६ गतेदेखि जेठ ८ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा प्रवाह गरिने मुख्य सेवाहरूमा घटना दर्ता: जन्म, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ र मृत्यु दर्ता,  सिफारिसहरू: विभिन्न प्रकारका वडा स्तरका सिफारिसहरु, स्वास्थ्य सेवा: आधारभूत स्वास्थ्य सेवाहरु, योजना सम्बन्धी: विभिन्न योजनाहरूको सिफारिस रहेका छन् ।

स्थानीय बासिन्दाको सहजताका लागि विभिन्न टोलहरूलाई लक्षित २०८३/०२/०६ गते: सानोटार, मुप्पाटार, भण्डारवेशी र लगुम्बा, २०८३/०२/०७ गते: डुङ्गेटार, टोइके, खत्रीगाउँ र मेच्छेपौवा र २०८३/०२/०८ गते: पालुघाट, पालुघाटटार, चोपटार, गैरीगाउँ र ठूलोगाउँमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले सम्पूर्ण टोलवासी समुदायहरूलाई उक्त स्थान र समयमा उपस्थित भई आफ्नै घर-टोलबाटै सरकारी सेवा सुविधाहरू लिन अनुरोध गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।