महाभारत– काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले ‘कफी उत्पादनमार्फत समृद्धि, महाभारत निर्माण’ को महाअभियानलाई तीव्र रूपमा अघि बढाएको छ। यसै महाअभियान अन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न कार्यक्रममार्फत पालिकाभित्र ठुलो संख्यामा कफी खेती विस्तार गरिरहेको छ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार यस आर्थिक वर्षमा विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरी पालिकाभर कुल १ लाख १४ हजारभन्दा बढी कफीका बिरुवा रोप्ने लक्ष्यका साथ काम भइरहेको छ।
यी हुन महाभार सारकाले सञ्चालन गरेकाो कफी खेती विस्तारका प्रमुख कार्यक्रमहरू:
१. ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ कार्यक्रम: कृषकहरूलाई कफी खेतीतर्फ आकर्षित र प्रोत्साहित गर्न पालिकाले यो नौलो कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअन्तर्गत ३० हजार बिरुवा रोप्ने लक्ष्य रहेको छ। हालसम्म वडा नम्बर १, ६ र ७ मा बिरुवा वितरण भइसकेको र बाँकी वडाहरूमा पनि केही दिनभित्रै वितरण गरिने गाउँपालिकाले जनाएको छ।
२. एक वडा एक कृषि उत्पादन (कफी खेती) कार्यक्रम: यस कार्यक्रमअन्तर्गत महाभारत गाउँपालिकाको वडा नम्बर ५ मा मात्रै करिब ३२ हजार कफीका बिरुवाहरू रोपिसकिएको छ।
३. ब्लक विकास कार्यक्रम: कफीको व्यावसायिक उत्पादनका लागि सञ्चालित ब्लक विकास कार्यक्रमअन्तर्गत वडा नम्बर २ र ३ मा १७ हजार बिरुवाहरू रोपिसकिएको छ।
४. कफी प्रवर्द्धन कार्यक्रम: हाल कार्यान्वयनको चरणमा रहेको यस कार्यक्रममार्फत थप करिब ३५ हजार बिरुवा रोपेर यस वर्ष कुल १ लाख १४ हजारभन्दा बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिनेछ।
प्रविधि र पूर्वाधारमा पनि जोड
गाउँपालिकाले बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई कफी खेतीको दिगो विकासका लागि कृषकहरूलाई अन्य प्राविधिक तथा भौतिक सहयोगसमेत उपलब्ध गराइरहेको छ।
अध्यक्ष जिम्बाका अनुसार कफी उत्पादन र गुणस्तर वृद्धिका लागि साना सिंचाइ आयोजना, आधुनिक कृषि यन्त्र उपकरण वितरण, कफी सुकाउने घर निर्माण, तथा मल्चिङ र थोपा सिंचाइसहितको कफी बगैँचा स्थापना गरिएका छन्। यसका साथै स्थानीय स्तरमै कफी नर्सरी स्थापना, छहारीका लागि बिरुवा वितरण, कृषकहरूका लागि स्थलगत तालिम तथा अध्ययन अवलोकन भ्रमणजस्ता रचनात्मक क्रियाकलापहरू पनि सँगसँगै अगाडि बढाइएको छ।
गाउँपालिकाले लिएको यो कफी खेतीको वृहत् नीतिले आगामी दिनमा स्थानीय कृषकहरूको आर्थिक जीवनस्तर उकास्नुका साथै ‘समृद्ध महाभारत’ को सपनालाई साकार पार्न ठुलो टेवा पुग्ने विश्वास लिइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















