तेमाल– काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डिएम) ले विपि राजमार्गको ‘पूर्ण विकल्प’ खोज्ने भन्दा पनि यसलाई थप सुरक्षित र मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । हालै प्रतिनिधि सभा सदस्य (सांसद) मधुकुमार चौलागाईंले विपि राजमार्गको विकल्प खोज्नुपर्ने भनी दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपाध्यक्ष थोकरले सामाजिक सञ्जल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उपाध्यक्ष थोकरले वैकल्पिक सडकको आवश्यकतालाई स्वीकार गरे पनि मूल मार्गलाई नै विस्थापित गर्ने वा छोड्ने कुरा गैरजिम्मेवारपूर्ण हुने टिप्पणी गरेका छन् ।

जिम्मेवारीबाट पन्छिने बहाना मात्रै

संघीय माननीयज्यूले विपि राजमार्गको “पूर्ण विकल्प” खोज्ने कुरा गर्नु समस्याको वास्तविक समाधान नभएर जिम्मेवारीबाट पन्छिन खोज्नु मात्र भएको थोकरको आरोप छ। विकासको नाममा मूल आधारलाई नै भत्काउनु गलत भएको भन्दै उनले भने, “वैकल्पिक सडक बनाउनुपर्छ, तर बिपी राजमार्गलाई विस्थापित गरेर होइन।”

पूरक सडक नै वास्तविक विकल्प

उपाध्यक्ष थोकरका अनुसार नयाँ सडकहरू मूल मार्गको विस्थापनका लागि नभई यातायातलाई थप सहज बनाउने ‘पूरक सडक’ का रूपमा विकास गरिनुपर्छ। उनले हाल निर्माणाधीन र सम्भावित अन्य मार्गहरूलाई अघि बढाउन सुझाव समेत दिएका छन् । उलने भकुण्डे–मेच्छे–सुनकोशी पुल सडक (जुन अहिले निर्माणाधीन अवस्थामा छ), दोलालघाट वा बोहरेदोभान–पचुवारघाट–ठुलोपर्सेल–नेपालथोक सडक, मम्ती–टेकनपुर–भोर्ज्याङ–पिउरिडाँडा सडकहरुलाई द्रुत गतिमा निर्माण गरिनुपर्ने तर यिनकै बहानामा मूल राजमार्गको मर्मत र स्तरोन्नतिलाई उपेक्षा गर्न नमिल्ने उनको तर्क छ।

“राजनीति होइन, परिणाम चाहियो”

राजनीतिक फाइदाका लागि संवेदनशील पूर्वाधारमाथि बहस गर्नुभन्दा दीर्घकालीन समाधान खोज्न उनले सांसद चौलागाईंलाई आग्रह गरेका छन् ।   उपाध्यक्ष थोकरले भने, “विकास देउ तर राजनीतिक कुरा गरेर होइन! परिणाम देउ तर आधार भत्काएर होइन! मेरो सुझाव छ– बिपी राजमार्गलाई सुरक्षित, मजबुत र दीर्घकालीन बनाउन पहल गर, र वैकल्पिक मार्ग छिटो बनाइ यात्रा सहज गर !”

अन्तर-जिल्ला जोड्ने र काभ्रेली जनताको लाइफलाइन मानिएको विपि राजमार्गको सुरक्षा र स्तरोन्नतिका लागि जनप्रतिनिधिहरू नै गम्भीर हुनुपर्नेमा उपाध्यक्ष थोकरको जोड छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।