महाभारत— स्थानीय तहहरूमा आर्थिक अनुशासन र सुशासनको संकट गहिरिँदै गर्दा काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले वित्तीय पारदर्शितामा देशकै लागि उदाहरणीय नेतृत्व प्रस्तुत गरेका छन्। अध्यक्ष जिम्बाको कडा प्रशासनिक निगरानी र वित्तीय अनुशासनका कारण महाभारत गाउँपालिकाले लगातार तेस्रो पटक पनि ‘शून्य बेरुजु’ कायम राख्दै कीर्तिमान रचेको हो।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार देशभरका अधिकांश स्थानीय तह बेरुजुको पहाडले थिचिएका बेला महाभारत भने शतप्रतिशत पारदर्शी ठहरिएको छ। यो उपलब्धि आकस्मिक नभई अध्यक्ष जिम्बाको निरन्तरको प्रयास र सुशासनप्रतिको प्रतिबद्धताको परिणाम हो।

कामसँगै कागजात: जिम्बाको सफल शुत्र

अधिकांश स्थानीय तहमा योजना सम्पन्न भए पनि कागजी प्रक्रिया नमिल्दा करोडौँ बेरुजु देखिने गरेको छ। तर अध्यक्ष जिम्बाले गाउँपालिकामा ‘कामसँगै कागजात’ को कडा प्रणाली लागू गरेका छन्।

आफ्नो पालिकाको सफलताको रहस्य खुलाउँदै अध्यक्ष कान्छालाल जिम्बाले भने: “हामीले योजना छनोटदेखि भुक्तानीसम्मका हरेक चरणमा कानुनी प्रक्रियालाई कडाइका साथ पालना गर्‍यौँ। प्रत्येक योजनाको डिजिटल र लिखित दुवै अभिलेख सुरक्षित राख्ने, उपभोक्ता समितिलाई नियमित सिकाउने र भुक्तानी अघि अनिवार्य प्राविधिक प्रतिवेदन लिने पद्धतिले नै यो नतिजा सम्भव भएको हो।”

नागरिक विश्वास र देशकै लागि पाठ

खरिद प्रक्रियामा सार्वजनिक प्रतिस्पर्धालाई प्राथमिकता दिने र आन्तरिक लेखा परीक्षणलाई चुस्त राख्ने जिम्बाको रणनीतिले महाभारत गाउँपालिकालाई कम स्रोत-साधनका बीच पनि उत्कृष्ट प्रशासन चलाउन सकिन्छ भन्ने बलियो प्रमाण बनाएको छ।

जिल्लाकै अन्य पालिकाहरू लाखौँको बेरुजु फर्स्यौट गर्न नसकेर अलमलिएका बेला जिम्बाको नेतृत्वले महाभारतलाई नागरिक विश्वासको केन्द्र बनाएको छ। स्थानीय तहमा आर्थिक अपारदर्शिताका समाचार मात्रै आउने वर्तमान समयमा अध्यक्ष कान्छालाल जिम्बाको यो कार्यशैली संघीय शासन प्रणालीलाई नै बलियो बनाउने एउटा उत्कृष्ट ‘मोडेल’ साबित भएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।