मिलन दोङ तामाङ
मलेसिया-विश्व स्वास्थ्य संगठन (WHO) ले इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि मलेसियाले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ।
मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा इबोला संक्रमण पुष्टि भएको छैन। तर कंगो लोकतान्त्रिक गणतन्त्र (DRC) र युगान्डामा संक्रमण फैलिन थालेपछि अन्तर्राष्ट्रिय यात्रामार्फत संक्रमण भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारिएको हो।
दुबई, दोहा र सिंगापुर हुँदै आउने यात्रुहरूसमेत विशेष निगरानीमा राखिएको छ। विमानस्थल र समुद्री नाकामा स्वास्थ्य परीक्षण तथा निगरानी बढाइएको मन्त्रालयले जनाएको छ।
WHO का अनुसार DRC मा हालसम्म ८ संक्रमित पुष्टि भएका छन् भने २४६ शंकास्पद संक्रमित र ८० शंकास्पद मृत्यु रिपोर्ट भएका छन्। युगान्डामा पनि दुई संक्रमित पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ।
इबोला अत्यन्त खतरनाक संक्रामक रोग हो, जुन संक्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने गर्दछ।
ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, बान्ता, पखाला तथा रक्तश्रावजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।


















