Oplus_16908288

मिलन दोङ तामाङ 

काठमाडौं-मोरङको लेटाङ नगरपालिका–१ आरुबोटेलाका कर्ण मगर मलेसियाबाट छुट्टीमा घर आएपछि पुनः रोजगारीका लागि फर्किने क्रममा काठमाडौंस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेका छन्।

 

परिवारका अनुसार मगर केही समयअघि मलेसियाबाट बिदामा नेपाल आएका थिए। छुट्टी सकेर पुनः मलेसिया जान काठमाडौं पुगेका उनी जेठ ७ गते काठमाडौंको न्यु नेपाल गन्ज तनहु गेस्ट हाउसमा मृत अवस्थामा भेटिएका हुन्।

 

घटनापछि परिवार तथा आफन्तले मृत्यु शङ्कास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। “बिनाकारण स्वस्थ व्यक्तिको अचानक मृत्यु हुनुमा केही न केही रहस्य हुनसक्छ,” भन्दै आफन्तहरूले सम्बन्धित निकायसँग गम्भीर अनुसन्धानको माग गरेका छन्।

जिल्ला प्रहरी काठमाडौंका अनुसार शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। प्रारम्भिक पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

मृतकका परिवार, आफन्त तथा स्थानीयवासीले घटनाको वास्तविकता सार्वजनिक गरी दोषी भए कारबाही गर्न सरकारसँग माग गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।