बनेपा-  नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा विभिन्न ८ बुँदे विशेष प्रस्तावहरू पारित गर्दै आज बनेपामा सम्पन्न भएको छ। शाखा अध्यक्ष विनोदकुमार न्यौपानेको अध्यक्षता तथा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले श्रमजीवी पत्रकारको हकहित, प्रेस स्वतन्त्रता र मिडियामैत्री नीतिका लागि जोडदार माग गरेको छ।

साधारणसभाले सचिव नगेन्द्र अधिकारीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सदस्यहरूको सुझावसहित सर्वसम्मत पारित गरेको छ।

साधारणसभाले मिडिया उद्योग र श्रमजीवी पत्रकारका सवाललाई समेट्दै महत्त्वपूर्ण ८ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। एकद्वार प्रणालीका नाममा मिडियाहरू बन्द गराउने सरकारी कदमको भत्सर्ना गर्दै साधारणसभाले मिडियामैत्री विज्ञापन नीतिलाई प्रभावकारी बनाउन नेपाल सरकारसँग माग गरेको छ।

यस्तै, लोककल्याणकारी विज्ञापन नीतिमा सुधार गरी विज्ञापनवापतको रकम दोब्बर बनाउन र त्यसलाई समानुपातिक प्रणालीबाट वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ। काभ्रेपलाञ्चोकका सम्पूर्ण स्थानीय तह र सरकारी निकायहरूले लोककल्याणकारी विज्ञापन तथा सूचनाहरू जिल्लामै सञ्चालित मिडियाहरूलाई समानुपातिक रूपमा वितरण गर्नुपर्ने प्रस्ताव समेत पारित भएको छ।

श्रमजीवी पत्रकारहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्नका लागि स्पष्ट नीति र कानुन निर्माण गरी अघि बढ्न साधारणसभाले महासंघको प्रदेश र केन्द्रीय कार्यसमितिलाई अनुरोध गरेको छ। सूचनाको हकलाई अक्षरशः पालना गर्दै सबैलाई समान सूचना प्रदान गर्न सरकारसँग माग गरिएको छ।

यसैगरी, सञ्चार क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीहरूलाई निलम्बन र बर्खास्ती गर्ने प्रक्रिया तत्काल बन्द गर्न माग गर्दै साधारणसभाले संविधान प्रदत्त हक, अधिकार र सुरक्षा स्थापित हुने गरी कानुन निर्माणका लागि सरोकारवालाहरूको सर्वपक्षीय भेला आयोजना गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ।

प्रेस स्वतन्त्रतामाथि भइरहेका संकुचन, नियन्त्रण र संविधान विपरीतका कानुन संशोधनका प्रयासहरू विरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले चालेका आन्दोलनका कदमहरूप्रति काभ्रे शाखाले पूर्ण ऐक्यबद्धता जनाएको छ। साधारणसभाले ती आन्दोलनका कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण सरोकारवालाहरूमा आह्वान समेत गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।