धुलिखेल- धुलिखेल अस्पतालले सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा परिमार्जित गरिएको नयाँ ‘सुविधा थैली’लाई आफ्नो प्राविधिक प्रणालीमा आवद्ध गर्न समय लाग्ने भएपछि बीमा अन्तर्गतका सेवाहरू नयाँ तालिका अनुसार सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै आन्तरिक प्राविधिक तयारी र अभिमुखीकरणका लागि केही समय लाग्ने भएकाले बीमाका सेवाहरू फरक-फरक मितिदेखि मात्र लागू हुने जानकारी दिएको हो।
अस्पतालका अनुसार परिमार्जित नयाँ व्यवस्था अन्तर्गत आकस्मिक सेवातर्फको बीमा सुविधा आगामी सोमबार (जेठ १८ गते) देखि लागू हुनेछ। त्यसैगरी, नियमित बहिरङ्ग र अन्तरङ्ग सेवातर्फको बीमा सुविधा भने आगामी असार १ गतेदेखि मात्र लागू हुने अस्पतालले जनाएको छ। तोकिएको मिति अगाडि यी सेवाहरूमा बीमा सुविधा उपलब्ध नहुने सूचनामा स्पष्ट पारिएको छ।
स्वास्थ्य बीमा बाहेकका अस्पतालका अन्य सम्पूर्ण नियमित सेवाहरू भने साविक बमोजिम नै निरन्तर सञ्चालन भइरहने छन्। अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको थियो।
अस्पतालको स्थापित गुणस्तरीय सेवालाई सुनिश्चित गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ बढी सहज, व्यवस्थित, दिगो र आर्थिक रूपमा सम्भाव्य बनाउन अस्पताल प्रशासनले स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। प्राविधिक तयारीका कारण यस अवधिभर सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना समेत गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















