धुलिखेल- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित एक सामुदायिक वनमा दुई जनाको सडेगलेको अवस्थामा शव (कंकाल) फेला परेको छ । केही समयदेखि बेपत्ता रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र उनकी महिला साथी शर्मिला चौधरीको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मंगलबार (जेठ २० गते) बिहान अन्दाजी १०:३० बजे पाँचखाल नगरपालिका वडा नं. ३ स्थित ठुली सामुदायिक वनमा मौवाको दुईवटा रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दुईवटा मानव कंकाल फेला परेका थिए । स्थानीयको खबरपछि प्रहरी चौकी पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थलमा भेटिएका कपडा र अन्य कागजातका आधारमा मृतकका आफन्त र साथीभाइले उनीहरूको पहिचान असई शक्ति राम र शर्मिला चौधरीको रूपमा गरेका हुन् ।
प्रहरीका अनुसार पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी घर भएका शक्ति राम सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेमा कार्यरत थिए । गत वैशाख १९ गतेदेखि लागू हुने गरी २ दिनको बिदा लिएर निस्केका उनी घरपरिवार र कार्यालय दुवैको सम्पर्कमा आएका थिएनन् । उनी सम्पर्कविहीन भएपछि सशस्त्र प्रहरी गणले वैशाख २१ गते खोजतलासका लागि प्रहरीमा पत्र पठाएको थियो ।
त्यसैगरी, कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते काभ्रेमा रहेका असई शक्ति रामलाई भेट्न भनी हिँडेकी थिइन् । दुवै जनाको मोबाइल स्विच अफ भएपछि शर्मिलाका भाइ रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरी वृत्त बालाजुले शर्मिलाको मोबाइलको अन्तिम लोकेशन काभ्रेपलाञ्चोक जिल्लामा देखाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र बालाजु प्रहरीले संयुक्त रूपमा खोजतलास तीव्र पारेका थिए । अनुसन्धानका क्रममा प्रहरीले बैंक विवरण तथा कल डिटेल रेकर्ड (CDR) लगायतका प्राविधिक माध्यमहरूको विश्लेषण गरिरहेकै अवस्थामा मंगलबार वनमा उनीहरूको कंकाल फेला परेको हो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै जनाको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखेको छ । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















