खानीखोला- काभ्रेको दुर्गम मानिने खानीखोला गाउँपालिकामा स्थानीय युवाहरूलाई लक्षित गरी आयोजना गरिएको एक महिने थाङ्का लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग वाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा खानीखोला गाउँपालिकाको समन्वयमा उक्त उद्यमशीलता केन्द्रित तालिम सञ्चालन गरिएको हो।
ग्रामीण क्षेत्रका युवाहरूलाई स्थानीय स्तरमै स्वरोजगार बनाउने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस तालिममा उच्च शिक्षा अध्ययन गरिरहेका १८ जना स्थानीय युवाहरूको सहभागिता रहेको थियो। एक महिनासम्म चलेको तालिममा सहभागीहरूले थाङ्का कला सम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्।
सीपलाई आयआर्जन र आर्थिक सबलीकरणसँग जोडिने
तालिम समापन कार्यक्रममा बोल्दै खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सहभागी युवाहरू अब आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्ने विश्वास व्यक्त गरे । युवाहरूले छोटो समयमै आधारभूत ज्ञान निकै राम्रोसँग सिकेको बताउँदै उनले गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई सधैं प्राथमिकतामा राख्ने उल्लेख गरे ।
त्यस्तै, उद्योग वाणिज्य कार्यालय धुलिखेलका प्रमुख रविन घिमिरेले युवाहरूलाई यो सीपलाई केवल सिकाइमा मात्र सीमित नराखी व्यावसायिक रोजगार र आयआर्जनको क्षेत्रमा जोड्न आग्रह गरे । “थाङ्का लेखनको आधारभूत सीप सिकेसँगै अब युवाहरू आफ्नै घरमै बसेर व्यावसायिक रूपमा काम गर्न र आर्थिक रूपमा सबल बन्न सक्छन्,” प्रमुख घिमिरेले भने । उनले युवाहरूको उत्साहलाई मध्यनजर गर्दै आगामी वर्ष उद्योग वाणिज्य कार्यालयले थप ‘एड्भान्स’ (उच्च तहको) तालिमको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विदेशी मुद्रा आर्जनको बलियो सम्भावना
तालिमका मुख्य प्रशिक्षक विजय लामाले थाङ्का कलाको आर्थिक महत्त्वमाथि प्रकाश पार्दै नेपाली थाङ्का विशेष गरी विदेशमा अत्यधिक माग हुने र यसको निर्यातबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना रहेको बताए । काभ्रे र रामेछाप लगायतका जिल्लाहरूमा यसको राम्रो प्रवर्द्धन भइरहेको बताउँदै प्रशिक्षक लामाले थपे, “एक महिनाको तालिम आधारभूत कुरा सिक्नका लागि मात्रै हो, यसलाई निरन्तरता दिएर पूर्ण रूपमा निपुण हुन कम्तीमा ६ महिनासम्म लाग्छ।”
तालिममा सहभागी स्थानीय युवती सोनी लामाले यो तालिमले आफूहरूमा नयाँ ऊर्जा थपेको र आत्मनिर्भर बन्न सक्षम बनाएको बताइन्। उनले भनिन्, “थप एड्भान्स तालिम पाउन सकियो भने अब विदेशिनु पर्दैन, नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आँट र आत्मविश्वास आएको छ।”
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















