बेथान्चोक- गत असोजको विनाशकारी बाढीपहिरोबाट क्षतविक्षत भएको काभ्रेको बेथान्चोक गाउँपालिकाका नागरिकलाई लक्षित गरी आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्राकृतिक विपत्तिको घाउमा मलम लगाउने उद्देश्यले बेथान्चोक गाउँपालिका वडा नं. ३ स्थित श्रीकृष्ण गोपाल माध्यमिक विद्यालयमा सञ्चालित उक्त शिविरबाट ६ सय १ जना स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

सेना र नागरिकको सम्बन्ध प्रगाढ

राष्ट्रिय सेवा दलको आयोजनामा शुक्रबार र शनिबार सञ्चालित उक्त शिविरमा नेपाली सेनाको श्रीमेहर गण धुलिखेल र बेथान्चोक गाउँपालिका लगायत विभिन्न सङ्घसंस्थाहरूले समन्वय गरेका थिए ।

विपत्तिका बेला नेपाली सेनाले पुर्‍याएको गुन सम्झिँदै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो । शिविर समापनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले भन्नुभयो: “विपद्का हरेक घटनामा नेपाली सेनाले नागरिकप्रति गरेको सहयोग गाउँबासीहरूले कहिल्यै भुल्ने छैनन् । यो स्वास्थ्य परीक्षण शिविरले प्राकृतिक विपत्तिको चपेटामा परेका हाम्रा नागरिकलाई थप राहत र लाभ मिल्ने अवसर दिएको छ ।”

अध्यक्ष अधिकारीले शिविरलाई सफल बनाउन सहयोग गर्ने नेपाली सेनाको टोली, राष्ट्रिय सेवा दल तथा अन्य सहयोगी सङ्घसंस्थाहरूलाई गाउँपालिकाका तर्फबाट धन्यवाद एवं आभार व्यक्त गर्नुभयो ।

विपत्तिको त्यो दुःखाद स्मरण

बेथान्चोक गाउँपालिका गत २०८१ असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट देशकै सबैभन्दा बढी प्रभावित पालिकामध्ये एक हो । गाउँपालिकाका अनुसार उक्त प्राकृतिक विपत्तिमा परेर १२ जनाले ज्यान गुमाएका थिए भने एक जना अझै बेपत्ता छन् ।

भौतिक पूर्वाधारतर्फ मात्रै पालिकामा झन्डै ७ देखि ९ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सडक, विद्युत्, र खानेपानी जस्ता आधारभूत संरचनाहरू ध्वस्त भएको अवस्थामा सञ्चालित यस स्वास्थ्य शिविरले स्थानीय तहमा सकारात्मक उर्जा थपेको महसुस गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।