धुलिखेल- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा भएको भीषण यात्रुवाहक बस दुर्घटनाको वास्तविक अवस्था र कारण पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय विशेष छानबिन समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सचिवालयले आज (जेठ ३० गते) एक पत्र जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (प्र.व.उ.) कमल थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई दुर्घटनाको सत्यतथ्य छानबिन गरी जिम्मेवार पक्षको पहिचानसहित आगामी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कडा निर्देशन दिइएको छ ।
३०० मिटर तल खसेको थियो बस, ८ को मृत्यु
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २९ गते दिउँसो अन्दाजी २:१५ बजे काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ बुच्चाकोटस्थित बीपी राजमार्ग सडक खण्डमा गुडिरहेको बस दुर्घटनामा परेको थियो । बनेपाबाट रोशी खापाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको ‘पूर्व अरनिको यातायात’ को यात्रुवाहक बस अचानक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
उक्त भयानक दुर्घटनामा परी ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १६ जना यात्रु गम्भीर घाइते भएका थिए । घाइतेहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
को-को छन् छानबिन समितिमा?
नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्र.व.उ. कमल थापाको संयोजकत्वमा गठित समितिमा विभिन्न प्रहरी कार्यालयका दक्ष अधिकारीहरूलाई सदस्यका रूपमा समेटिएको छ ।
संयोजक: प्र.व.उ. कमल थापा (नेपाल प्रहरी प्रदेश कार्यालय, बनेपा, काभ्रे)
सदस्य: प्र.ना.उ. रविन विष्ट (जिल्ला प्रहरी कार्यालय, काभ्रे)
सदस्य: प्र.ना.उ. गंगा सारु (नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवन)
सदस्य: प्र.नि. दिनेश खरेल (बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडा)
सदस्य सचिव: प्र.व.ना.नि. टंक शिवाकोटी (जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रे)
सदस्य: प्र.ह. वासुदेव खड्का (इलाका प्रहरी कार्यालय, देविटार, काभ्रे)
७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
प्रहरी महानिरीक्षकको सचिवालयले यो समितिलाई दुर्घटना हुनुको मुख्य कारण (प्राविधिक वा मानवीय त्रुटि), सडकको अवस्था र दुर्घटनामा जिम्मेवार रहेका पक्षहरूको गम्भीरतापूर्वक अनुसन्धान गर्न भनेको छ । दिइएको जिम्मेवारी ७ दिनभित्र सम्पन्न गरी प्रतिवेदन पेस गर्न पत्रमार्फत निर्देशित गरिएको छ ।
यस पत्रको बोधार्थ बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे लगायत सम्बन्धित सबै ट्राफिक कार्यालयहरूमा पठाई छानबिन कार्यमा आवश्यक समन्वय र सहयोग पुर्याउन आदेश दिइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















