धुलिखेल- काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १२ ठुली वेशी स्थित वेतेनी बगरमामा टिपर ब्याक गर्ने क्रममा दुईवटा टिपरको बीचमा च्यापिएर एक जना जेसिबी सहचालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति अन्दाजी १०:०० बजेको समयमा  उक्त दुर्घटना भएको हो ।

बालुवा लोड गरी ब्याक गर्ने क्रममा बा ४ ख ९८२५ नम्बरको टिपरले सोही स्थानमा रोकिराखेको बा ४ ख ९९०९ नम्बरको टिपरमा थिच्दा उक्त दुर्घटना भएको हो । दुई टिपरको बीचमा च्यापिँदा त्यहाँ कार्यरत जेसिबीका सहचालक १९ वर्षीय देबेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको छ । मृतक तामाङ काभ्रेकै पाँचखाल नगरपालिका वडा नं. ८ होक्से घर भई हाल पाँचखाल–४ तामाघाट बस्ने राम बहादुर तामाङका छोरा हुन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हिगुवापाटी, प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी पाँचखालबाट तत्कालै  प्रहरी टोली परिचालित भएका थिए । दुर्घटनाका कारण दुवै टिपरको झ्याल र ढोकाका सिसाहरू फुटेर क्षति पुगेको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, ठक्कर दिने बा ४ ख ९८२५ नम्बरका टिपर चालक ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ६ बस्ने ३९ वर्षीय दिपक सत्याललाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।