धुलिखेल- काभ्रेपलाञ्चोकको धुलिखेलमा एक महिलाको सुनको सिक्री लुटेर फरार रहेका ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धुलिखेल नगरपालिका वडा नं. ७ स्थित अड्डाबजारमा हिडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका उनीहरूलाई काभ्रे प्रहरीको विशेष टोलीले मण्डनदेउपुर नगरपालिका वडा नं. ७ कुन्ताबेशीबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ६ जनालाई नै काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) रविन विष्टका अनुसार गत जेठ २३ गते बिहान अन्दाजी ०९:४० बजेको समयमा रामेछाप घर भई धुलिखेल बस्ने ३८ वर्षीया सरिता हायु धुलिखेल भकुण्डेवेशी चोकबाट हस्पिटल चोक जाने क्रममा बाटोमा लुटिएकी थिइन्। एक अपरिचित व्यक्तिले उनको घाँटीमा लगाएको सुनको सिक्री थुतेर हस्पिटल चोक तर्फ भागेको भन्दै प्रहरीमा निवेदन परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
घटना लगत्तै फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा असार ४ गते दिउँसो अन्दाजी दिउँसो ४ बजे कुन्ताबेशीमा फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम “चोरी सम्बन्धी कसुर” मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
पक्राउ पर्नेहरू को-को हुन्?
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे, सिन्धुपाल्चोक र ओखलढुङ्गाका युवाहरू रहेका छन्:
१. युनिश कपाली (वर्ष १८) – धुलिखेल न.पा.–६, काभ्रे (चन्द्रलाल कपालीका छोरा)
२. नबिन तामाङ (वर्ष १८) – मण्डनदेउपुर न.पा.–४, काभ्रे (राजकुमार तामाङका छोरा)
३. रोहन सोराली मगर (वर्ष १८) – तेमाल गा.पा., काभ्रे (मोहन ब. सोराली मगरका छोरा)
४. कमल बराइली (वर्ष ३८) – पाँचपोखरी थाङ्पाल गा.पा.–८, सिन्धुपाल्चोक (तुलाराम बराइलीका छोरा)
५. अजय तामाङ (वर्ष २३) – धुलिखेल न.पा.–३, काभ्रे (भिमसेन तामाङका छोरा)
६. किरण भुजेल (वर्ष १८) – ओखलढुङ्गा (उत्तम भुजेलका छोरा)
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा राखी घटनाको विषयमा थप आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















