काभ्रे- नेपाली कांग्रेसका अग्रज नेता तथा पूर्व शिक्षा तथा महिला बालबालिका मन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा दुःखद निधन भएको छ। लामो समयदेखि श्वासप्रश्वास (दम) को समस्याबाट पीडित खरेलको आइतबार (आषाढ ७ गते) राति उपचारकै क्रममा काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो।
उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका सभापति तिर्थ लामाले गहिरो दुःख व्यक्त गर्दै पाँच दिने विशेष शोक कार्यक्रमको घोषणा गरेको छ।
विद्यार्थी आन्दोलन र ८ वर्षको कठोर जेल यात्रा
वि.सं. २००३ साल श्रावण ८ गते काभ्रेको पाँचखाल नगरपालिकास्थित खरेलथोकमा पिता सुब्बा देवीप्रसाद र माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा जन्मिएका स्वर्गीय खरेल नेपाली राजनीतिमा एक निष्कलंक, त्यागी र सिद्धान्तनिष्ठ नेताका रूपमा स्थापित थिए। वि.सं. २०२५/०२६ सालमा तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) को संस्थापक सदस्य र निर्वाचित स्ववियू सचिव हुँदै राजनीतिमा होमिएका खरेलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पार्टीको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनका क्रममा उनले पटक-पटक गरी झण्डै ८ वर्ष लामो कष्टकर एवं यातनापूर्ण जेल जीवन बिताएका थिए।
काभ्रे कांग्रेसको जग र संसदीय यात्रा
पार्टी संगठनमा उनको योगदान अतुलनीय रहेको छ। वि.सं. २०३४ सालमा सप्तलाल तामाङको सभापतित्वमा पहिलो पटक गठन भएको नेपाली कांग्रेस काभ्रेको जिल्ला कार्यसमितिमा उनी संस्थापक सचिव बनेका थिए। पछि, पार्टीको आठौँ महाधिवेशन अन्तर्गत वि.सं. २०४८ सालमा उनी जिल्ला उपसभापति बनेर काभ्रेमा कांग्रेसको संगठनलाई सुदृढ बनाउन अहोरात्र खटिएका थिए।
वि.सं. २०४८ र २०५१ को आम निर्वाचन तथा २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खरेल वि.सं. २०५६ को प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ३ बाट सांसद निर्वाचित भएका थिए। सोपश्चात् उनले देशको शिक्षा मन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको रूपमा राष्ट्र र जिल्लाको विकासमा अविस्मरणीय योगदान पुर्याएका थिए।
पाँच दिनसम्म शोक कार्यक्रम, मंगलबार शोक बिदा
वरिष्ठ नेता खरेलको निधनपछि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय खरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। खरेलका सुपुत्र महेश खरेल हाल नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख (मेयर) का रूपमा क्रियाशील छन्।
दिवंगत नेता खरेलप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेस काभ्रेले आषाढ ८ गतेदेखि १२ गतेसम्म पाँच दिनसम्म पार्टीको जिल्ला देखि वडा समितिसम्मका सबै कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ र पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएका छन् सभापति लामाद्वारा प्रेषित शोक वक्तब्यमा उल्लेख गरिएको छ । त्यसैगरि आषाढ ८ गतेदेखि पाँच दिनसम्म नेपाली कांग्रेस जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने र आषाढ ९ गते मंगलबारका दिन पार्टीको जिल्ला कार्यालयदेखि वडा तहसम्मका सम्पूर्ण कार्यालयहरू बन्द रहने जनाएको छ ।
“स्वर्गीय राजेन्द्र खरेलको निधनबाट मुलुकले एक अग्रज र अनुभवी राजनीतिज्ञ, आदर्श व्यक्तित्व तथा लोकतान्त्रिक आन्दोलनको होनहार योद्धालाई गुमाएको छ। उहाँले नेपालको शिक्षा र समाजकल्याण क्षेत्रको विकास एवं राष्ट्र निर्माणमा पुर्याउनुभएको उल्लेखनीय योगदानलाई नेपाली कांग्रेस काभ्रेले सदा स्मरण र सम्मान गरिरहनेछ।” शोक वक्तव्यमा भनिएको छ,
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















