काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका विकट तथा ग्रामीण क्षेत्रहरूमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरीले विशेष गस्ती परिचालन गरेको छ। इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले असार ७ र ८ गते दुई दिने ‘लङ रुट पेट्रोल’ संचालन गरेको हो।
गाउँपालिकाभित्र भयरहित वातावरण निर्माण गर्न र नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन यो अभियान चलाइएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राले जानकारी दिएका छन् ।

दूरदराजका गाउँहरूमा प्रहरीको उपस्थितिलाई थप प्रभावकारी र योजनाबद्ध बनाउने उद्देश्यका साथ LRP टोली परिचालन गरिएको थियो। दुई दिनसम्म चलेको उक्त गस्तीले रोशी गाउँपालिकाका विभिन्न स्थानहरूको वस्तुस्थिति बुझ्नुका साथै सम्भावित अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई रोक्न विशेष निगरानी बढाए प्रहरी निरिक्षक मिश्राले बताए ।
गस्तीका क्रममा प्रहरीले गाउँघर र समाजको हालको अवस्था बुझ्दै आम नागरिकसँगको सामीप्यता बढाउने र सूचना संकलन गर्ने कार्य गरेको छ। यसका साथै स्थानीय स्तरमा चोरी, ठगी तथा लुटपाट जस्ता घटनाहरू हुन नदिन विभिन्न सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएका थिए।
मिश्राका अनुसार LRT ले मानव बेचबिखन, बालविवाह, बहुविवाह, बाल यौन दुर्व्यवहार, र लैङ्गिक हिंसा नियन्त्रण, आत्महत्या न्यूनीकरण, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक, र तेजाब (Acid) को दुरुपयोग सम्बन्धी सचेतना र विभिन्न प्रलोभनमा पारी हुने ठगी विरुद्ध सचेतना र यस क्षेत्रको मुख्य नगदे बालीको रूपमा रहेको बुद्धचित्त मालाको सुरक्षा निगरानी तथा यसको अवैध ओसारपसार नियन्त्रणमा टेवा पुगेको छ ।
प्रहरीले यस क्षेत्रमा नवप्राकृतिकवादी लगायतका शंकास्पद गतिविधिहरूमाथि समेत कडा निगरानी राखेको जनाएको छ। ग्रामीण भेगका नागरिकहरूलाई प्रत्यक्ष भेटेर सुरक्षाको भरपर्दो भरोसा दिने यो अभियानले समाजमा हुने आपराधिक घटनाहरूलाई पूर्वसावधानीका साथ रोकथाम गर्न ठूलो मद्दत पुग्ने विश्वास इलाका प्रहरी कार्यालय मंगलटारले लिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















