चौरीदेउराली- काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा पूर्वाधार क्षेत्रलाई मजबुत बनाउने नीति अघि सारेको छ। गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा व्यवस्थित प्रशासनिक भवन नहुँदा जनताले भोग्नुपरेको सास्तीलाई अन्त्य गर्न चालु भवन निर्माण कार्यलाई तीव्र रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको कार्यलाई पनि आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने नीतिमा उल्लेख छ ।
सडक स्तरोन्नति र बाह्रै महिना यातायातको ग्यारेन्टी
गाउँपालिकाले नयाँ सडक ट्र्याक खोल्नुभन्दा पुराना र बनिसकेका सडकहरूको स्तरोन्नति (अपग्रेडिङ) गर्ने नीति लिएको छ। स्थानीय सडकहरूलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउनका लागि खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ।
प्राकृतिक प्रकोप वा अन्य कारणले सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि ‘आकस्मिक मर्मत तथा व्यवस्थापन कोष’ स्थापना गरिने महत्वपूर्ण घोषणा गरिएको छ। आगामी आर्थिक वर्षका लागि गाउँपालिका स्तरीय मुख्य ३ वटा सडक आयोजनाहरू गोठपानी-विर्ता देउराली सडक निर्माण, गुम्बाटी-बाङथली सडक निर्माण, देउराली-ज्यामिरे बोक्से सडक निर्माणको लागि बजेट ब्यवस्था गरिने जनाएको छ ।
उपभोक्ता समितिको १०% लागत सहभागिता अनिवार्य, वडा कार्यालयहरू निर्माण गरिने
गाउँपालिकाले पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारी र उपभोक्ता समितिको परिचालनलाई प्रोत्साहन गर्ने भएको छ। योजनाहरूमा स्थानीय जनताको अपनत्व बढाउनका लागि उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरूमा अनिवार्य रूपमा १० प्रतिशत लागत बेहोर्नुपर्ने पुरानो नीतिलाई निरन्तरता दिइएको छ। निजी क्षेत्र र उपभोक्ता समितिकै सहकार्यमा निर्माण सम्पन्न हुन बाँकी रहेका वडा कार्यालयहरूका भवनहरू समेत आगामी वर्ष पूरा गरिनेछ।
सञ्चार र विद्युतीकरणमा सुधार
चौरीदेउराली गाउँपालिकाले आफ्ना नागरिकलाई गुणस्तरीय सञ्चार सेवा पुर्याउन नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गर्ने नीति लिएको छ। सञ्चार सञ्जाल नपुगेका आवश्यक स्थानहरूमा नेपाल टेलिकमको नयाँ टावर जडानका लागि विशेष पहल गरिने बताइएको छ। यसका साथै, गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्युत लाइनहरूको सुधार र व्यवस्थापनका कार्यहरूलाई समेत अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै बाँकी रहेका अन्य ठूला पूर्वाधारका आयोजनाहरूलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















